काठमाडौं– नरदेवी बस्ने एक महिलालाई गत चैत ८ गते इमोमा एउटा म्यासेज आयो। जसमा ‘होली लक्की ड्र’को २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको उल्लेख थियो। उनी एनसेल नम्बर चलाइथिन्। एनसेलकै अफिसबाट भन्दै सो म्यासेज आएको थियो।
उनी मख्ख परिन्। त्यसपछि उनको बैंक खाता मागियो। बैंक खातामै २५ लाख रुपैयाँ हालिदिने भन्दै खाता नम्बर मागिएको थियो। तर, सरकारको नियमअनुसार १५ प्रतिशत कर काट्नुपर्ने र त्यसका लागि छुट्टै पैसा लाग्ने भन्दै पैसा मागियो। २५ लाख आउने भएपति १५ प्रतिशत तिर्न उनलाई समस्या भएन। मनि ट्रान्सफरमार्फत पैसा पठाइदिइन्।
तर, चिठ्ठाबापतको पैसा आएन। बरु थप, पैसा मागियो। उनलाई शंका लागेपछि प्रहरीमा खबर गरिन्।
पछिल्लो पटक उनले ३ लाख रुपैयाँ दिएकी थिइन्। उनले पठाएको पैसा रिसिभ गर्ने गुल्मीका विजय ज्ञवालीलाई प्रहरीले मंगलबार ३ लाख रुपैयाँसहित पक्राउ गरेको छ।
जम्मा गरेर सो समूहले ती महिलासँग ७ लाख २५ हजार रुपैयाँ लिएको थियो। पक्राउ परेका ज्ञवाली पैसा लिएर विदेश पठाउने एजेन्ट भएको खुलेको छ। ज्ञवालीले रुपक खरेल नामक व्यक्तिले आफुलाई सो पैसा निकाल्न लगाएको बताएका छन्। खरेल फरार छन्।
महानगरीय अपराध महाशाखाका अनुसार यसरी ठगी गर्ने गिरोहका नाइकेहरु भारत, दुबई र पाकिस्तानमा रहेको प्रहरीले जनाएको छ। विजय कुमार, अकाश बर्मा, राणा प्रपता सि).ह लगायत नामक गरेका व्यक्तिहरुले इमो तथा भाइबरमा चिठ्ठा परेको म्यासेज पठाएर ठगी गर्दै आएको प्रहरीले जनाएको छ।
यस्ता ठगीका उजुरी दैनिक पर्ने गरेको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।