रत्ननगर– रोग लागेर चितवनमा ८ हजार १ सय कुखुरा मरेका छन्। रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित २ वटा कुखुरा फार्म रित्तिएका हुन्।
रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका ५ हजार १ सय कुखुरा मरेका छन्। जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीका अनुसार त्यहाँका कुखुरा ‘एच ९ लो प्याथोजनिक संक्रमण’ले मरेका हुन्।
सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब ४० लाख रुपैयाँ बराबरको क्षति भएको बताए। चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेका थिए। खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताए।
यस्तै पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका ३ हजार ब्रोइलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताए।
यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको छ। चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले ‘रानीखेत’ र ‘गम्बारो’ भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उदृत गर्दै जानकारी दिए।
‘हिजोसम्म अलि अलि थियो। आजबाट एउटा पनि रहेन। खोर नै रित्तियो।’, थापाले दुःख पोख्दै भने, ‘मेरो २० लाखभन्दा बढीको क्षति भयो।’ उनले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गरे।
सुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरेका उनले बताए।
जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवम् पशु चिकित्सक डा तिवारीका अनुसार अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने ‘एच ५ एन १’ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।