काठमाडौं– प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाँउदै डिआईजी रमेश खरेलले बुधबार राजीनामा दिएका छन्। बुधबार दिउँसो प्रहरी मुख्यालयमा गएर उनले राजीनामा बुझाएका हुन्।
सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। आफ्नो उचित मूल्याङकन नभएको भन्दै खरेलले राजीनामा दिएका हुन्। राजीनामा दिनुअघि उनले खनाललाई बधाई दिएका थिए। खनालले खरेललाई फोन गरेर राजीनामा नदिन आग्रह गरेका थिए। सरकारले आफ्नो उचित मूल्याङकन नगरेको भन्दै खरेलले असन्तुष्टि जनाएका छन्।
नेपाल प्रहरीका ‘हिरो’ प्रहरी अधिकृतका रुपमा चिनिएका खरेललाई डिआइजी बढुवामा पछि पारिएको थियो। एसएसपीमा पहिलो नम्बरमा रहेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो नम्बरमा डिआइजीमा बढुवा गरेको थियो। त्यसअघि उनी सधैं आफ्नो ब्याचमा एक नम्बरमा बढुवा हुँदै आएका थिए। सरकारले त्यसबेला पहिलो नम्बरमा बढुवा गरेका सर्वेन्द्र खनाल सोमबार आइजिपीमा बढुवा भए।
खरेल २०४५ साल फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए। १० महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन्। नेपाल प्रहरीमा उनी ‘पहिलो हिरो’ का रुपमा चिनिन्छन्।
एसपी पददेखि खरेलको चर्चा सुरु भएको थियो। सप्तरीको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गर्दा अपराधीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि उनको चर्चा सुरु भएको थियो। त्यसपछि पोखरा, पर्सा र काठमाडौंको प्रहरी प्रमुखका रुपमा काम गर्दा उनको चर्चा चुलिएको थियो। कसैको दबाब नमान्ने र लोभमा नपर्ने कारण उनी जनमानसमा रोलमोडल बने।
उनको त्यही चर्चा पछि प्रहरीमा ‘ट्रेन्ड’ बन्यो। तर, नेताहरुसँग भने उनको सम्बन्ध बिग्रँदै गयो। जसकारण डिआइजी बढुवामा उनी पछि परे। उनको त्यही 'एग्रेसिभ पुलिसिङ' नै आइजिपी बन्ने सपनाका लागि बाधक बन्यो।
आइजिपीका अर्का प्रमुख प्रतिस्पर्धी पुष्कर कार्कीले भने सरकारको निर्णय स्वीकार गर्ने बताएका छन्।
आइजिपीका तिनै जना प्रतिस्पर्धी उत्तिकै काबिल मानिन्थे। प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा खरेल र कार्की भए पनि प्रचण्डको अडानपछि सरकारले खनाललाई नै आइजिपी बनाएको हो। बुधबारदेखि उनले कार्यभार सम्हाल्दैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।