काठमाडौं– नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को बैठक बिहीबारदेखि भारतको राजधानी नयाँ दिल्लीमा बस्दै छ।
'बैठक भोलि र पर्सी दुई दिन बस्नेत छ', बैठकका सदस्य डा राजन भट्टराईले जानकारी दिए।
इपिजी आफ्नो कार्यकालको अन्तिमतिर आइपुगेको छ। बैठक नेपाल र भारतमा पालैपालो बस्दै आएको छ। इपिजीको पहिलो बैठक (०७३ असार २० र २१) को मितिले दुई वर्ष कार्यकाल रहने व्यवस्था छ। 'हामी प्रतिवदेनलाई अन्तिम रुप दिनेतिर जाँदै छौं', डा भट्टराईले भने, 'त्यसै विषयमा विचार विमर्श हुने छ।'
यसअघि गत फागुन १२ र १३ मा काठमाडौंमा बैठक बसेको थियो।
नेपाल र भारतबीचका सम्बन्धलाई पुनरावलोकन गर्ने तथा दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउने विषयमा दुवै देशका सरकारलाई सुझाव दिने र सिफारिस गर्ने म्यान्डेट छ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईको भारत भ्रमण (२०६८ कात्तिक ३–६) को बेलामा नेपाल भारत सम्बन्धको विविध आयामलाई समयानुकूल बनाउने र नयाँ तरिकाले परिभाषित गर्ने अभिप्रायले विज्ञ समूहको रायसुझाव लिएर सन्धि पुनरावलोकन गर्ने सहमति भएको थियो।
त्यस्तै ०७१ साउन १८–१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबीच इपिजी गठन गर्ने सहमति भएको थियो।
केपी शर्मा ओली पहिलोपटक भारत भ्रमण (०७२ फागुन ७–१२) का बेला इपिजी सदस्य घोषणा भएको थियो।
इपिजीको नेपाली समूहमा पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा (संयोजक), पूर्व सांसद डा राजन भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय छन्। त्यस्तै भारतीय समूहमा भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी (संयोजक), प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती तथा कूटनीतिज्ञ जयन्तप्रसाद छन्।
इपिजी बैठकहरु
पहिलो बैठक– ०७३ असार २०–२१ (काठमाडौं)
दोस्रो बैठक– ०७३ असोज १८–१९ (नयाँ दिल्ली)
तेस्रो बैठक– ०७३ चैच २३–२४ (काठमाडौं)
चौथो बैठक– ०७४ जेठ १५–१७ (देहरादुन)
पाँचौँ बैठक– ०७४ असोज २१–२२ (काठमाडौं)
छैटौं बैठक– ०७४ पुष २७–२८ (नयाँ दिल्ली)
सातौं बैठक– ०७४ फागुन १२–१३ (काठमाडौं)
आठौं बैठक– ०७४ चैत्र २९–३० (नयाँ दिल्ली)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।