काठमाण्डौं- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुलाई सामाजिक सुरक्षा प्रदान गर्न सरकारले १८ करोड रूपैयाँ कोषमा जम्मा गरिदिएको छ। श्रमिक तथा रोजगारदाता कम्पनीले कोषमा जम्मा गर्नुपर्ने आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम बराबर चैत महिनाको रकम सरकारले कोषमा जम्मा गरिदिएको हो।
हाल कोषमा १२ हजार ३ सय २८ रोजगारदाता र १ लाख ५६ हजार ८ सय ५० श्रमिक सूचिकृत छन्।
सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकहरुको चैत महिनाको पारिश्रमिक सरकारले बेहोर्ने हल्ला बाहिरीए पनि वास्तविक त्यस्तो नरहेको कोषले जनाएको छ। 'श्रमिकहरुको पारिश्रमिक रोजगारदाता स्वयंले बेहोर्ने हो सरकारले सामाजिक सुरक्षा बराबरको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकम सहयोग गरेको हो,' कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले नेपाल लाइभसँग भने।
कार्यकारी निर्देशक ज्ञवालीका अनुसार सरकारले कोषमा सूचिकृत भई योगदान रकम जम्मा गर्न सुरु गर्नेहरुका लागि १८ करोड ६६ लाख रकम प्रदान गरेको छ। सो रकम अब केहि दिनमै कोषमा सूचिकृत भई योगदान रकम जम्मा गर्न सुरू गरेकाहरुको खातामा जम्मा हुनेछ।
नीजि क्षेत्रमा आम श्रमजीविका लागि लागू गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा औपचारिक क्षेत्रका केही श्रमिकहरु मात्रै समेटिएका छन्। अनौपचारिक क्षेत्रका लागि कोष आकर्षित हुन सकेको छैन।
कोषमा श्रमिकको आधारभूत पारिश्रमिकबाट मासिक १० प्रतिशत र रोजगारदाताबाट आधारभूत पारिश्रमिक बराबर रकमको २० प्रतिशत गरी ३१ प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।