काठमाडौं– साउदीमा रोजगारदाताहरुले नेपाली श्रमिकहरुलाई झुक्याएर अलपत्र पारेका घटनाहरु बहिरीन थालेका छन्। पछिल्लो समय नेपाली श्रमिकहरुले नबुझ्ने भाषा (अरबी)मा लेखिएका कागजातमा यो राम्रो काजगात हो भनेर झुक्याएर बेतलबी बिदाका लागि मन्जुरी रहेको कागजमा हस्ताक्षर गर्न लगाइएको पाइएको छ।
त्यस्तै रोजगारदाताहरुले कम्पनीमा बसिरहेका श्रमिकहरुलाई सप्लाई कम्पनीको आवासमा बस्न आग्रह गर्दै अलपत्र पारेका घटना पनि बढ्न थालेका छन्। साउदीस्थित नेपाली दूतावासका अनुसार केही दिन अगाडि रोजगारदाता (क्लाएन्ट कम्पनी)ले आफू बसीरहेको आवास खाली गरी सप्लाई कम्पनीको आवासमा पठाएको छ। आफू बसीरहेको कम्पनीको आवास छाडेर गएका श्रमिकहरुलाई सप्लाई कम्पनीको आवासमा प्रवेश नदिएपछि उनीहरु बीच बाटोमै अलपत्र परेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ।
केही कम्पनीहरुले कामदारलाई झुक्याएर अरबी भाषामा लेखिएको बेतलबी बिदाका लागि मञ्जुरी कागजमा हस्ताक्षर गराउने प्रवृत्ति बढेको नेपाली महावाणिज्यदूतावास जेद्धाले जनाएको छ। साउदी सरकारले कामदारको सहमतिमा कामदारको पारिश्रमिक कटौती गर्ने वा बेतलबी बिदामा राख्न सक्ने निर्णय गरेसँगै नबुझिने भाषामा बेतलबी बिदामा बस्न मञ्जुर रहेको कागज तयार पारी श्रमिकहरुलाई हस्ताक्षर गराउने प्रवृत्ति बढेको महावाणिज्यदूतावासले जनाएको छ।
यो संकटको घडीमा कसैलाई पनि आवासबाट बाहिर निकाल्न पाइँदैन। झुक्याएर वा जर्बजस्ती बेतलबी बिदा मञ्जुर कागजमा हस्ताक्षर गराउन पनि पाइँदैन।
नबुझेको पत्रमा हस्ताक्षर गर्न कसैले जर्बजस्ती गरेमा जबर्जस्ती गर्नेको टेलिफोन नम्बर आफ्नो विवरणसहित नजिकको प्रहरी कार्यालय वा मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयको सेवाग्राही नम्बर १९९११ वा नेपाली राजदूतावास रियाद वा जेद्धास्थित महावाणिज्यदूतावासमा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।