काडमाडौं- मर्कन्टाइल कम्युनिकेसनको सर्भर प्रणाली ह्याक गरिएको एक ह्याकरले दाबी गरेको छ। नेपालमा डटकम डट एनपी डोमेन उपलब्ध गराउँदै आएको मर्कन्टाईल प्राइभेट लिमिटेडका अनुसार ह्याकरहरुले मंगलबार राती १० बजेर ३७ मिनेटमा उक्त डोमेन सर्भरमा आफ्नो पहुँच पुगेको जानकारी कम्पनीलाई गराएको थियो।
ह्याकरहरुले मर्कन्टाइलकोे डाटा सर्भरमा पहुँच पुर्याएको दाबी गरेपनि कम्पनीले भने 'डट एनपी' डोमेन प्रयोगकर्तालाई नआत्तिन भनेको छ। ‘डोमेनसँग सम्बन्धित केही डाटाहरु ‘हुइज डटकम’ मा पनि भेटिन्छन्। ह्याकरले त्यही डाटालाई देखाएर सर्भरमा आफ्नो पहुँच पुगेको दाबी गरेको पनि हुन सक्छ। हाम्रो प्रारम्भिक अनुसन्धानले हाम्रो सर्भरमा कुनै समस्या आएको छैन। हामी सुरक्षित छौं,’ मर्कन्टाइल कम्युनिकेसन प्रालीले बुधबार जारी गरेको सूचनामा भनिएको छ।
यद्यपि कम्पनीले नयाँ डोमेन दर्ता भने तत्कालका लागि रोकिएको जानकारी दिएको छ। साइबर हमलाबाट बच्न थप सुरक्षाका उपाय अपनाएर यो सेवा सुचारु गरिने कम्पनीले जनाएको छ। पछिल्लो २५ वर्षदेखि डट एनपि डोमेन सुविधा दिइहेको उक्त कम्पनीले हालसम्ममा ८३ हजार व्यक्तिगत र व्यवसायिक डोमेन निर्माण गरिसकेको छ।
यसअघि फुण्डमाण्डु, प्रभु रेमिटलगायत संस्थाको डाटामा पहुँच पुर्याएको दाबी गरेको सतान नामक ट्विटर ह्यान्डिलबाट मर्कन्टाइल कम्युनिकेसनको सर्भर ह्याक गरेको जानकारी दिइएको थियो। तर अहिले भने उक्त ह्याण्डिलका सबै ट्विट हेर्न नमिल्ने बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।