काठमाडौं- सुवास नेपाली क्रिकेटले डिभिजन फाइभदेखि एकदिवसीय मान्यतासम्मको यात्रा गर्दा क्रिकेटकै वरिपरि छन्। राष्ट्रिय टिमका पछिल्ला उपलब्धीमा जोडिन नपाए पनि सुवासले नेपाली क्रिकेटको हरेक खुड्किलोमा आफ्नो केही न केही योगदान दिएकै छन्।
‘जो खेलाडीको पनि सपना राष्ट्रिय टिमबाट खेल्ने भन्ने नै हुन्छ। मैले अहिले त्यो सोेचेको त छैन, त्यो अलि टाढाको सपना हो। अहिले जति पनि लिग खेल्न पाउँछु त्यसमा राम्रो गर्नुपर्छ भन्ने छ’ गएको पुसमा पोखरा प्रिमियर लिग (पिपिएल) मा खेल्दै गर्दा सुवासले भनेका थिए। तर त्यसको एक महिनापछि नै उनी राष्ट्रिय टिममा फर्किए।
घाइते भएर लामो समय टिमबाहिर रहेका सुवास गएको माघमा भएको आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत अमेरिका र ओमानविरुद्धको सिरिजमा राष्ट्रिय टिममा फर्किए। सिरिज नेपालका लागि मध्यम मात्रै हुन सक्यो भने सुवासले आफ्नो पुरानो लय भेट्टाउन संघर्ष गरिरहनुपर्यो।
एक समय त नेपाली क्रिकेटमा सुवासको विकल्प देखिँदैन थियो। त्यही सुवासलाई मैदानमा देख्ने आश क्रिकेट समर्थकमा छँदैछ।
सन् २०१० मा नेपालले डिभिजन फाइभमा प्रतिस्पर्धा गर्नुअघिको अभ्यास खेलमा सुवासले अमेरिकाविरुद्ध ३४ बलमा नै ५३ रन हानेका थिए। तर, उनी डिभिजन फाइभ खेल्ने टिममा भने थिएनन्। त्यसबेला अमेरिकी टिमका प्रशिक्षक क्लेटन ल्यामबर्टले सुवास टिममा नभएकोमा आश्चर्य मान्दै भनेका थिए- ‘अब राष्ट्रिय टिममा स्थान बनाउन उनले लामो समय कुनुपर्ने छैन।’
सन् २०११ मा आइसिसी यु१९ विश्वकप छनोटमा अफगानिस्तानविरुद्ध उत्कृष्ट अर्धशतक हानेका सुवास धेरैको नजरमा परेका थिए। २०११ मा एसिसी ट्वान्टी ट्वान्टी कपमा राष्ट्रिय टिममा आएका सुवासले २०१२ को डिभिजन फोरपछि त आफ्नो स्तर प्रष्ट पारे। त्यसबेला उनले अमेरिकाविरुद्ध १४२ बलमा हानेको १ सय १५ रन नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा बनाएको चौथो शतक मात्रै थियो। त्यसै प्रतियोगिताको फाइनलमा अमेरिकाविरुद्ध हानेको अविजित ४० रन पनि निकै महत्वपूर्ण रह्यो।
सन् २०१२ मा एसिसी ट्रफी फाइनलमा युएईविरुद्ध हानेको अर्धशतक, २०१३ मा एसिसी इमर्जिङ टिम्स कपमा पाकिस्तान यु२३ विरुद्ध हानेको ७८ रन, २०१३ मा आइसिसी विश्व ट्वान्टी ट्वान्टीमा केन्याविरुद्ध हानेको अर्धशतक, २०१४ को एसिसी प्रिमियर लिगमा युएईविरुद्ध हानेको ७१ रन सुवासले नेपाली टिमका लागि जितको आधार बनाउन सक्ने केही प्रमाणहरु हुन्।
सन् २०१४ मा विश्वकप छनोट प्रतियोगिताअघि ज्वरो आएर अन्तिम समयमा टिमबाट बाहिर रहेका सुवासले २०१३ मा आइसिसी विश्व ट्वान्टी ट्वान्टी छनोटमा सर्वाधिक २ सय ३४ रन बनाएका थिए।
अन्तर्राष्ट्रिय टी ट्वान्टीमा अर्धशतक हान्ने पहिलो नेपाली ब्याट्सम्यान सुवासले २०१४ को आइसिसी विश्व टी ट्वान्टीमा अफगानिस्तानविरुद्ध अर्धशतक बनाएका थिए। सन् २०१४ को डिभिजन थ्रीमा अमेरिकाविरुद्ध ४९ रन बनाएका उनले प्रतियोगिताभर १ सय १२ रन हानेका थिए।
सन् २०१२ मा आइसिसी यु१९ विश्वकपमा इंग्ल्याण्डविरुद्ध बनाएको अर्धशतकको त पाकिस्तानी लिजेन्ड क्रिकेटर वासिम अक्रमदेखि धेरैले तारिफ गरेका थिए।
सुवासले २०१८ को अगस्टमा नेदरल्याण्ड्सविरुद्ध नेपालबाट एकदिवसीय डेब्यू पनि गरे। २०१८ को सेप्टेम्बरमा एसीसी एसिया कप छनोटपछि भने उनी घाइते हुनाले टिमबाहिर परेका थिए। नेपाली टिममा फर्किए पनि सुवासले खेलको पुरानो लय भेट्टाउन भने अझै मेहनत आवश्यक पर्ने बुझेका छन्। अहिले लकडाउनको समयमा पनि नेपाली क्रिकेटका बारेमा सुवासले विचार गरिरहकै छन्।
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) कारण गएको ११ गतेदेखि गरिएको लकडाउन एक हप्ता थपेर २५ गतेसम्म पुगेको छ। अवस्था यहाँबाट सुधारतर्फ बढ्छ कि अझ कठिन समय आउनेछ यकिन छैन।
यसले विश्वभर ठप्प रहेको खेल गतिविधि जस्तै नेपाली क्रिकेटले पनि केही महत्वपूर्ण प्रतियोगिताहरु गुमाएको छ। जसले गर्दा सुवासले आफूलाई प्रमाणित गर्न पाउने समय पनि पर पुगिरहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले जुन ३० अघिका सबै प्रतियोगिता स्थगित भएको जनाएसँगै नेपालको महत्वपूर्ण दुई सिरिज अनिश्चितकालका लागि स्थगित भयो।
आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले नामिबियामा र पपुपा न्युगिनीमा खेल्ने सिरिज स्थगित भएको हो। अप्रिल २० देखि २७ सम्म नामिबियामा र जुन ९ देखि १६ सम्म पपुवा न्युगिनीमा सिरिज हुने तय थियो।
लकडाउनमा बितिरहेको समय र नेपाली क्रिकेटका विभिन्न पक्षमा रहेर सुवाससँग गरिएको कुराकानी,
कस्तो हुँदैछ दिनहरु?
चारैतिर बन्द छ अहिले कतै जान त मिल्दैन। यस्तो बेलामा जानु पनि हुँदैन। घरमा बस्नुमा फाइदा पनि छ। परिवार सबै सँगै हुन पाएका छौँ। पकाउने खाने र बस्ने त्यस्तै भइरहेको छ। खेलका हिसाबले हेर्ने हो भने अभ्यास गर्न पाएका छैनौँ त्यो भने अलि नराम्रो भएको छ। क्रिकेट खेलिरहनुपर्ने खेल पनि हो। फिटनेसको कुराहरुमा पनि निकै विचार गर्नुपर्ने हुन्छ।
कोरोना यसरी नफैलिएको भए त एभरेस्ट प्रिमियर लिग (इपिएल), त्यसपछि नेपालकै पनि प्रतियोगितामा व्यस्त भइन्थ्यो होइन त?
हजुर हजुर, इपिएलसँगै अप्रिल २० देखि नेपालको महत्वपूर्ण खेल नै थियो। त्यसमा नै व्यस्त भइन्थ्यो तर अब संसारभर फैलिएको यो कोरोना भाइरसले गर्दा यसलाई अब खै के भन्ने र।
घरमा मात्र बसिरहँदा पहिलेका समय भन्दा केही फरक हुने रहेछ? मानसिक रुपमा केही फरक पर्छ? सोचहरु कस्तो हुँदो रहेछ...
फरक त भइनै हाल्छ, क्रिकेटमा लागेपछि यति लामो समय घरमा त कहिल्यै बसेकै थिएनौँ। खेलहरु नभएको बेलामा पनि अभ्यास त नियमित नै भइराख्थ्यो। त्यसले यति लामो समय घरमा बस्ने समय कहिल्यै थिएन। त्यो कोणबाट हेर्दा अहिले घरमा बस्न रमाइलो पनि लागिरहेको छ, परिवार सँगै भएकाले खुसी नै छु। अब खेललाई केही पर राखेर सबै खेलाडीले परिवारलाई समय दिन पाएका छन् भनेर सकारात्मक भएर सोचौँ न।
घरमा हुँदा पहिले नगर्ने त्यस्तो केही कामहरु अहिले गरिरहनु भएको छ?
त्यस्तो खासै भिन्न त केही छैन। घरमा सानोतिनो कामहरु त गरिरहेकै हुन्छु। समय हुँदा पहिले पनि गरिने कामहरु नै हो, नयाँ काम भनेर त केही छैन। एउटा कुरा चाहिँ पहिले घरमा हुँदा ‘वर्कआउट’ गरिँदैन थियो अहिले भने गर्न थालेको छु।
दिनभरको तालिका चाहिँ कस्तो छ त अहिले?
बिहान त ६ नबज्दै उठिसकेको हुन्छु। त्यसपछि व्यायामहरु गर्छु। कुनै दिन घरमा नै सिढिँमा दौडिन्छु पनि। घरमा नै गर्न मिल्ने व्यायामहरु गरिरहेको नै हुन्छु। बेलुका पनि व्यायाम गर्छु। यही भन्ने त छैन। अल्छि लाग्यो भने फिल्महरु हेर्छु। दिउँसोको समय त फिल्म हेरेर नै बितिरहेको छ।
समाचारहरु पढ्ने गर्नुभएको छ?
बिहानको समयमा पढ्छु। चिया खाने समयमा नै पढिन्छ समाचारहरु प्राय। नेपालको समाचारहरु हाम्रो पात्रोमा नै आइरहेको हुन्छ। बाहिरको समाचारका लागि बिबिसी, सिएनएन पनि हेर्ने गरिरहेको छु। अहिले त कोरोनाको अपडेटहरु नै हेरिन्छ।
क्रिकेटकै कुनै भिडियोहरु हेर्ने वा आफैले खेलेको कुनै खेलहरु हेर्ने त्यस्तो गर्नुहुन्छ कि
क्रिकेटको त्यस्तो भिडियोहरु त हेरेको छैन। युट्युबमा भएको चाहिँ कहिले काहिँ हेरिन्छ। अभ्यासको बेला खिचेका भिडियोहरु भने हेरेको छैन। पुरानो फोटोहरु भने हेरिरहेको हुन्छु।
अब क्रिकेटकै केही कुराहरु पनि जोडौँ, हामीले पाएको एकदिवसीय मान्यता पनि धेरै समयका लागि बाँकी छैन। तर क्रिकेट उही ठाउँमा अड्किरहेको जस्तो देखिन्छ। यस्तोमा लामो समय खेलाडीहरु घरमा बस्नुपर्दा खेलमा अझै असर पो पर्ने हो कि,
अब यस्तो छ, सबै खेलाडीहरु घरमा नै भए पनि फिटनेसका लागि केही न केही काम त गरिरहनुभएकै हुन्छ। यो लेभलमा कोच र फिजियो भयो भने मात्रै काम गर्ने भन्ने हु्ँदैन। आफूलाई थाहा भएका कुराहरु आफैले पनि गरिरहनु पर्दछ। गरिरहेका पनि छौँ। त्योबाहेक टेक्निकल कुराहरु स्किलको कुराहरुमा काम गर्न नपाउँदा असर त परिनै हाल्छ। तर कुनै राम्रो खेलाडीले भोलिको दिन सोचेर आज गर्न मिल्ने कामहरु त गर्नै पर्छ।
अहिलेको समयले गर्दा राम्रो खेलमा कमब्याक गर्न गाह्रो पो हुने हो...
केही काम गरिरहँदा कमब्याक गर्न गाह्रो नहोला, तर नेपालमा अहिले खेलाडीको छनोट गर्न मिल्ने संख्या बढेको छ। पहिले २० जना खेलाडीबाट टिम छान्नुपर्ने समय थियो भने अहिले त्यो संख्या निकै बढेको छ। तर संख्या बढेको पनि ‘क्वालिटी प्लेयर’ को संख्या भने कम भएको जस्तो लाग्छ। नेपाल टिम बनेको नै हरेक क्रिकेट खेलाडीको लक्ष्य हुँदै हो। त्यहाँ पुग्नका लागि कुन स्तरमा कसरी सम्हालिएर खेलिरहनु पर्छ भन्ने त खेलाडीहरुले बुझेकै छन्।
हाम्रो क्रिकेट कहिले राम्रो हो भन्ने लाग्छ, कहिले निकै नराम्रो जस्तो देखिन्छ। खेलाडीमो खेल अनुभवको कमि अझै भइरहेको हो कि? अरु कारण छन्
पहिले नेपाल क्रिकेट संघ (क्यान) नहुँदा कसरी अगाडि बढ्ने भन्ने कुरामा धेरै अप्ठ्याराहरु थिए। धेरै खेलहरु नै हुँदैन थियो। टी ट्वान्टीमा इपिएल, डिपिएल, पिपिएल जस्ता प्रतियोगिता मात्रै भइरहेका थिए। खेलाडी छनोटको आधार नै त्यही जस्तो भएको थियो। त्यसले युवा खेलाडीहरु निकै चाडै राष्ट्रिय टिमसम्म पुगे। त्यसले खेलाडीमा अनुभवमा भएको कमि खेलमा पनि देखियो। अब एक दुई वर्षमा हुने अनुभवले युवा खेलाडीहरुले राम्रो गर्नेछन् र नेपाली क्रिकेट राम्रो ठाउँमा पुग्नेछ।
हामीले ओपनिङ ब्याटिङमा धेरै नै प्रयोगहरु गरिरहेको हो जस्तो लाग्दैन। डिभिजन थ्री, टू मा देखिएकै ओपनिङ पनि देखिँदैन नि।
मुख्य कुरा के भने ओपनिङमा म र अनिल (अनिल मण्डल) हुँदा दुवै जना नै घाइते भएर बाहिर भयौँ। पछि सागर (सागर पुन) आयो ऊ पनि चोटकै कारण बाहिर भयो। नेपालमा घरेलु प्रतियोगिताहरु पनि हुन छाडेको थियो जसले गर्दा धेरै खेलाडीको खेलहरु हेरेर छान्ने मौका पनि रहेन। त्यही कारणले गर्दा मिडिल अर्डरका खेलाडीहरुलाई ओपनिङमा प्रयोग गर्ने अवस्था आइरह्यो। त्यसले गर्दा नै गाह्रो भइरह्यो।
अर्को कुरा त ओपनिङमा प्रयोग गरिएका खेलाडीलाई चाहिने जति समय पनि दिइएन। एक, दुईवटा खेलमा भएन भने अर्को खोज्न थालियो त्यसले गर्दा कसैको पनि खेल देखिन सकेन र आत्मविश्वास खेलाडीमा आउन सकेन। पहिले पुबुदु (पुबुदु दासानायके) सरको पालामा भने खेलाडीलाई नै थाहा हुन्थ्यो कि मैले यति समय पाउँछु गर्नुपर्छ भन्ने।
नेपालभित्र टी ट्वान्टी प्रतियोगिताहरु उत्सव जस्तो गरी चलिरहेको भए पनि लामो फम्र्याटको क्रिकेटमा प्रतियोगिता नुहँदा केही अभाव भइरहेको छ जस्तो हुँदैन?
कस्तो भने टी ट्वान्टीकै प्रतियोगिताहरु पनि व्यापारिक दृष्टिकोणबाट मात्र बढिरहेको जस्तो हो। आवश्यक विकास भइरहेको देखिँदैन। पछिल्लो चार वर्षको समयलाई हेर्ने हो भने कति जना राम्रा नयाँ खेलाडी आएका छन् त? हो कुनै रुपमा क्रिकेटका सहयोग त भइरहेको छ तर सबैको उद्देश्य भनेको व्यापारमा नै देखिन्छ। तर क्यान नभएको समयमा, घरेलु प्रतियोगिताहरु ठप्प हुँदा टी ट्वान्टीका ती प्रतियोगिताहरुको महत्व ठूलो रह्यो। अब क्रिकेटको विकास क्यानको योजना राम्रो बनाएर त्यहीअनुसार नै आउनुपर्छ जस्तो लाग्छ।
नेपालमा डिभिजन फाइभदेखि नै क्रिकेट पछ्याइरहेका समर्थकहरु तपाइँको एक समयको ओपनिङ ब्याटिङदेखि जानकार नै छन्। त्यही पुरानो लयमा तपाइँलाई देख्न चाहनेहरु धेरै छन्। आफै चाहिँ कत्तिको विश्वस्त हुनुहुन्छ त्यही स्तरमा फर्कन?
होइन अब आशा त भइ नै हाल्छ, विश्वास पनि छ नै। पक्कै पनि नेपालको टिममा मैले अझै राम्रो क्रिकेट खेल्नेछु। नराम्रो समयमा घाइते हुन पुग्दा पछिल्लो वर्षहरुमा निकै गाह्रो भयो। चोट पूरा ठीक नभए पनि कति प्रतियोगिताहरु त खेलेँ। तर मैले देखेको समय अझै नै चाहिन्छ। राम्रो विकेटमा राम्रो टिमहरुसँग खेल्ने अवसर मिल्यो भने सुधार हुने नै छ।
हामीले खेल्ने सबैभन्दा राम्रो भनिएको कीर्तिपुर मैदान नै अन्तर्राष्ट्रिय रुपमा हेर्दा राम्रो विकेट छैन। केही खेलमा नै हुने कुरा होइन। हामी कन्ट्रयाक्टमा छौँ, इपिएल, पिपिएल, डिपिएल भइरहेको छ भन्छौँ तर खेलाडीले केही खेलले मात्रै त सुधार हुँदै हुँदैन। वर्षमा कम्तिमा नौँ महिना क्रिकेटको एउटा राम्रो तालिका हुनैपर्छ।
घाइते भएपछि कमब्याक गर्नुपर्दाको अप्ठ्यारा त अझ धेरै छन्। पहिले त क्यान नहुँदा घाइते खेलाडीको विचार समेत कसले गर्ने भन्ने थिएन। अब त क्यान आएको छ, घाइते खेलाडीको उपचार कसरी गर्ने र कति समयमा खेलमा फर्काउन योग्य बनाउने भन्ने योजना बनाएर राम्ररी लाग्नुपर्ने हुन्छ।
अहिले टिमको अरु साथीहरुसँग कुराकानी कत्तिको भइरहेको हुन्छ?
त्यस्तो मजाले कुराकानी त भएको छैन। कहिँलेकाहिँ म्यासेज गर्ने र च्याटमा कुराकानी गर्ने त भइरहेकै हुन्छ। पहिलेको जस्तै नै हो। सामाजिक सञ्जालमा एकअर्काको फोटोहरु पनि देखिरहेकै हुन्छौँ। के कसो छ, कसले के गरिरहेको छ सबै थाहा हुन्छ।
अहिले खेलकुदका लागि मात्रै होइन, सबैतिर नै अवस्था कठिन छ। यस्तोमा तपाइँसँग भन्नैपर्ने केही कुराहरु छन्?
अहिलेको परिस्थितिमा त हामी सबै सचेत हुनैपर्छ। कोरोना भाइरस (कोभिड १९) बाट बच्ने एकमात्र उपाय नै विश्व स्वास्थ्य संगठनले भनेका कुरा र सरकारले लागु गरेका नियमहरुको राम्रोसँग पालना गर्नु नै हो। लकडाउन गर्ने र शारीरिक दुरी बनाएर बस्ने भन्दा अर्को उपाय नै छैन। यी कुराहरुको पालना गरेर बस्यौँ भने यसबाट छिटो बाहिर निस्कन सकिन्छ जस्तो लाग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।