काठमाडौं– समाजसेवाको आवरणमा नेपालमा बाल यौनदुराचारमा संलग्न संयुक्त राष्ट्र संघका एक पूर्व उच्च अधिकारी नगरकोटमा पक्राउ परेका छन्।
दुई बालकसँग आपत्तिजनक अवस्थामा क्यानेडियन नागरिक पिटर जोन बारगिल्ससलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको हो।
पिटरले विगत २ वर्षदेखि नेपालमा हिमालयन कम्युनिटी फाउन्डेसन नामक एनजिओ सञ्चालन गर्दै आएका थिए। विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने भन्दै सो संस्था चलाउँदै आएका उनी बाल यौनदुराचारमा संलग्न रहेको सिआइबीका निर्देशक डिआइजी पुष्कर कार्कीले बताए।
उनले गरिब बालकहरुलाई घुमाउने र पढाइदिने भन्दै प्रलोभनमा पारी नजिकिने र यौनशोषण गर्ने गरेको खुलेको छ। मण्डन देउपुर नगपालिकाको वडा नम्बर १ मा रहेको चिलकाजी महर्जनको घर भाडामा लिएर उनी बस्दै आएका थिए। त्यहीँबाट उनलाई प्रहरीले पक्राउ गरेको हो।
तीन वटा विषयमा विद्यावारिधि गरेका पेटर स्ट्रिट किड्स इन्टरनेसनल नामक आइएनजिओका संस्थापक हुन्। युएन ह्याभिट्याटको प्रमुखका रुपमा अफगानिस्तानमा पनि उनले काम गरेका थिए। अफगानिस्तानमा उनले २०१० देखि २०१४ सम्म काम गरेका थिए।
विश्व स्वास्थ्य संगठनकमा वरिष्ठ सल्लाहकारका रुपमा उनले लाइबेरिया र डार्फरमा समेत काम गरेको खुलेको छ। उनीविरुद्ध जर्बजस्ती करणी मुद्दामा कारबाही अघि बढाइएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।