एजेन्सी- कृष्णसार सिकार मुद्दामा जोधपुरको केन्द्रीय जेलमा रहेका बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ।
सो मुद्दामा सुनुवाइ गरिरहेका न्यायाधीशको सरुवासँगै सलमानलाई अठ्यारोमा पार्न सक्ने अनुमान गरिएको थियो। तर न्यायाधीश रवीन्द्रकुमार जोशीले शनिबार फैसला सुनाउँदै सलमानलाई भारु ५० हजार धरौटीमा जमानत दिएका हुन्।
अदालतको आदेशपछि सलमानका वकिलले आफूहरुलाई न्याय मिलेको बताएका छन्। फैसलासँगै विश्रोई समाजले उच्च अदालतमा अपिल गर्ने बताएको छ। आजै साँझसम्म सलमान रिहा हुनेछन्।
गत बिहीबार जोधपुरको सिजेएम अदालतले सलमान खानलाई २० वर्ष पहिले कृष्णसार सिकार गरेको आरोपमा ५ वर्ष कैद सजाय र १० हजार रुपैया जरिवाना तोकेको थियो।
तारेखका लागि सलमान मे ७ मा अदालतमा उपस्थित हुनुपर्नेछ भने अदालतको आदेशबिना उनी देशबाहिर जान पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।