काठमाडौं- विश्व फुटबलमा धेरै हेरिनेमध्ये एक खेल- रियल मड्रिडविरुद्ध बार्सिलोना आइतबार राति पौने २ बजे खेल्दैछन्। रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा ला लिगा अन्तर्गतको दोस्रो भेट।
क्याम्प नाउमा भएको पहिलो खेल गोलरहित बराबरी भएकाले पनि बर्नाबेउको खेलको महत्व बढेको छ। यसको विजेताले ला लिगाको उपाधि जित्ने सम्भावना बढी हुने भएकाले पनि दुवै टिमका लागि यो उपाधि फरक पार्ने खेल हो।
जारी सिजनका खेलहरुलाई विचार गर्ने हो भने रियल मड्रिड आफ्नै मैदानमा जितको संघर्ष गरिरहेको छ भने बार्सिलोना अवे मैदानमा। रियल मड्रिडले आफ्नै मैदानमा यो सिजन आठ अंक गुमाएको छ।
रियल मड्रिडले पछिल्लो पटक घरेलु मैदानमा फेब्रुअरी १ मा एथ्लेटिको मड्रिडलाई १-० ले हराएको थियो। त्यसपछि रियल मड्रिडलाई रियल सोसिडाडले कोपा डेलरे बाट बाहिर बनाइदियो, सेल्टो भिगोले बराबरी खेल्यो र च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले २-१ ले हराइदियो।
सिजनको सुरुदेखि नै घरेलु मैदानमा बलियो देखिएको बार्सिलोना अवे मैदानमा भने कमजोर छ। एर्नेस्टो भालभर्दे प्रशिक्षक रहँदा बार्सिलोना अवे मैदानमा एथ्लेटिक क्लब, ग्रानाडा र लेभान्टेसँग पराजित भएको थियो भने ओसासुना, रियल सोसिडाड र स्पानियोलसँग बराबरी खेलेको थियो।

क्विके सेटियन प्रशिक्षकमा आएपछि पनि बार्सिलोना भ्यालेन्सिया र एथ्लेटिक क्लबसँग पराजित भइसकेको छ। अवे मैदानमा बार्सिलोनाले खेलेको पछिल्लो ९ खेलमा हरेकमा गोल खाएकै छ। बार्सिलोनाले अवे मैदानमा गोल नखाएको खेल तीन महिनाअघि एथ्लेटिको मड्रिडविरुद्ध वान्डा मेट्रोपोलिटानोमा हो। जहाँ बार्सिलोना १-० ले विजयी भएको थियो।
रियल मड्रिड र बार्सिलोना दुवै टिम यो सिजन चोटको समस्यामा छन्। रियल मड्रिडका इडन हाजार्ड, मार्को एसेन्सियो, नाचो, रोड्रिगो, जेम्स रोड्रिग्वेज र लुका जोभिक घाइते छन् भने बार्सिलोनामा लुइस स्वारेज, सर्जी रोबर्टो र उसमान डेम्बेले घाइते छन्। घाइते रहेका जोर्डि अल्बा टिममा फर्किए पनि खेल्ने नखेल्ने यकिन छैन।
बार्सिलोना र रियल मड्रिडबीच अहिलेसम्म भएका प्रतिस्पर्धात्मक खेलको संख्या २ सय ४३ पुगेको छ। जसमा रियल मड्रिडले ९५ खेल जितेको छ भने बार्सिलोनाले ९६ खेल जितेको छ। ५२ खेल बराबरी भएका छन्। एल क्लासिकोमा अहिलेसम्मका सबै खेलमा हेर्दा रियल मड्रिडले ४ सय ३ गोल गरेको छ भने बार्सिलोनाले ३ सय ९९ गोल गरेको छ।
ला लिगामा रियल मड्रिड र बार्सिलोनाबीचको पछिल्लो सात खेललाई हेर्ने हो भने रियल मड्रिड जितविहीन छ। त्यसमा तीन खेल बराबरी खेलेको रियल मड्रिडले चार खेल हारेको छ। बर्नाबेउमै पनि बार्सिलोनाले ला लिगाका पछिल्ला चार खेलमा रियल मड्रिडलाई हराएको छ।
ला लिगामा २५ खेलमा १७ जित, ४ बराबरी र ४ हारसहित ५५ अंक रहेको बार्सिलोना शीर्ष स्थानमा छ भने २५ खेलमा १५ जित, ८ बराबरी र २ हार रहेको रियल मड्रिड ५३ अंकसहित दोस्रो स्थानमा छ। त्यसपछिका तीन क्लब सेभिया र रियल सोसिडाड र एथ्लेटिको मड्रिडको २५ खेलमा समान ४३ अंक छ।
सम्भावित सुरुवाती ११
रियल मड्रिड - कोर्टुवा, कार्भाजल, भाराने, रामोस, मेन्डी, भालभर्दे, क्यासेमिरो, क्रुस, इस्को, बेन्जेमा र भिनिसियस।
बार्सिलोना - टेर स्टेगेन, सेमेडो, पिके, उमटिटी, फ्रिपो, आर्थर, बुस्केट्स, डि योङ, भिडाल, मेस्सी, ग्रिजम्यान।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।