काठमाडौं- शुक्रबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू
१. बाँस्कोटा घुस ‘डिल’ प्रकरण : के गर्छ अब कांग्रेसले?
आफ्ना उपसभापति विजय गच्छदार ललिता निवास जग्गा प्रकरणमा मुछिएको विषयमा तीन दिन संसद अवरुद्ध गरेपछि कांग्रेस आलोचित बन्यो।
अदालत प्रवेश गरिसकेको विषयलाई उठाएर संसद अवरुद्ध गरेको कांग्रेसको कार्यशैलीले उसैमाथि प्रश्न उठेको थियो। त्यसको एक साता पनि नबित्दै संसद अवरोधका लागि बलियो माध्यम बनिदिएको छ–निर्वतमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस प्रकरण।
सरकारको नेतृत्वकर्ता प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पुगिसकेको तर धेरैका लागि अप्रत्याशित बनेको मन्त्रीको ‘कमिसन डिल’ले कांग्रेसले प्रतिपक्षीय भूमिका देखाउने अवसर प्राप्त गरेको छ।
थप समाचार- बाँस्कोटा घुस ‘डिल’ प्रकरण : के गर्छ अब कांग्रेसले?
२.भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्री भिडियो र अडियो हेरेपछि किन मौन ?
‘राजनीतिक तुलोमा राख्ने हो भने एकातिर गोकुल बाँस्कोटा र अर्कोतिर अरु हुने निश्चित छ। धुलिखेल नगरपालिकाले जन्माएको उनी देशकै नेतृत्व गरिरहेका छन्। प्रतिपक्ष पनि गोकुल बाँस्कोटाको अनुहार हेरेपछि आलोचना गर्न सक्दैन।’ यो भनाइ हो प्रधानमन्त्री केपी शर्मा ओलीको। फागुन ५ गते धुलिखेल नगरपालिकाको वार्षिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमा सूचना तथा सञ्चार प्रविधिमन्त्री रहेका बाँस्कोटाको एकपछि अर्को प्रशंसा गर्दै गए।
त्यसको तीन दिनपछि फागुन ९ गते उनैले बाँस्कोटालाई पदबाट राजीनामा दिन निर्देशन दिए।
थप समाचार- भ्रष्टाचारीको मुख नहेर्ने प्रधानमन्त्री भिडियो र अडियो हेरेपछि किन मौन ?
३. कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका
कोरियामा कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ। मंगलबारसम्म ३१ जनामा देखिएको संक्रमण पछिल्लो तीन दिनमा १ सय ७३ जना थपमा देखिएको कोरियाको रोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै सिओल सिनमुनले जनाएको छ।
पछिल्लो तीन दिनमा देखिएका अधिकांश संक्रमितहरु थेगुस्थित सिनछनजी चर्चसँग सम्बन्धित रहेको केन्द्रले बताएको छ। कोरियाको दक्षिण पश्चिमी क्षेत्रमा पर्ने ख्यङसान बोग्दो प्रान्तमा मात्र १ सय ५३ संक्रमित भेटिएका छन्। यो संख्यामा पनि १ सय ४४ जना थेगुस्थित सिनछन चर्चसँग सम्बन्धित रहेको केन्द्रको भनाइ छ।
थप समाचार- कोरियामा कोरोना संक्रमितको संख्या २ सय नाघ्यो, १ सय ४४ जना एउटै चर्चका
४. चीनको ‘गैरकूटनीतिक’ पाइला
कूटनीतिमा बोली र भावभङ्गीको संवेदनशीलता अथ्र्याउने फ्रेन्च राजनीतिज्ञ एवं कूटनीतिज्ञ ट्यालीर्याण्डको एउटा भनाइ निकै चर्चित छ। उनले भनेका छन्, ‘एक कूटनीतिज्ञ जो हुन्छ भन्छ त्यसको अर्थ हो सायद, एक कूटनीतिज्ञ जो सायद भन्छ त्यसको अर्थ हो हुँदैन र एक कूटनीतिज्ञ जो हुँदैन भन्छ त्यो कूटनीतिज्ञ नै होइन।’
कूटनीति र कूटनीतिज्ञको सीमालाई उनको यो भनाइले एक हिसाबले सैद्धान्तिकृत गरेको छ। तर, कहिलेकाहीँ यस्ता सीमाहरु शक्ति राष्ट्रका कूटनीतिज्ञले नाघ्ने गरेका छन्। विरलैमात्र विवादमा आउने र नेपाली नागरिकहरुबाट पर्याप्त मात्रमा सहानुभूति पाइरहेको उत्तरी छिमेकी चीन पछिल्लो समय ‘एग्रेसिभ’ देखिन थालेको छ।
थप समाचार- चीनको ‘गैरकूटनीतिक’ पाइला
५. एमसिसी अनुमोदनका लागि अमेरिकी संसदीय टोली काठमाडौंमा सक्रिय
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण सकेर फर्किएको दुई साता पनि नबित्दै त्यसका पक्षमा ‘लबिङ’ गर्न अर्को अमेरिकी टोली नेपाल आइपुगेको छ।
अमेरिकी संसदको विदेश मामिला समितिअन्तर्गत एसिया र एसिया प्रशान्त क्षेत्र हेर्ने उपसमितिका संयोजक अमि बेरा नेतृत्वको ४ सदस्यीय टोली बिहीबार काठमाडौं आएको हो। भारत र श्रीलंका हुँदै आएको टोली नेपालमा निकै विवादित बनिरहेको एमसिसी अनुमोदनका लागि भेटघाटमा निकै सक्रिय भएको छ।
थप समाचार- एमसिसी अनुमोदनका लागि अमेरिकी संसदीय टोली काठमाडौंमा सक्रिय
६. गरिमा धान प्रकरणसँगै धान उत्पादनमा ५९ हजार मेट्रिक टनले गिरावट
चालु आर्थिक वर्षमा नेपालमा धान उत्पादनमा गिरावट आएको छ। अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा करीब ५९ हजार मेट्रिक टन गिरावट आएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग तथा अन्तर्गतका केन्द्रीय कार्यालयहरु, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयलगायत अन्तर्गतका कृषि विकास निर्देशनलायबाट स्थलगत अनुमानका लागि खटिएको टोलिले तयार पारेको प्रतिवेदनले उत्पादनमा गिरावट देखाएको हो।
थप समाचार- गरिमा धान प्रकरणसँगै धान उत्पादनमा ५९ हजार मेट्रिक टनले गिरावट
७. बाँस्काेटाकाे घुस बार्गेनिङमा अख्तियारले थाल्याे छानबिन
अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले घुसकाण्डमा मुछिएर राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि र सहरी विकासमन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिन थालेकाे छ।
सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेकाे अडियाे बाहिरएपछि ध्यानाकर्ण भएकाे अख्तियारले जनाएकाे छ। अख्तियारले अध्ययनका लागि हिजाे बाँस्काेटाकाे कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएकाे छ। साथै बाँस्काेटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ।
थप समाचार- बाँस्काेटाकाे घुस बार्गेनिङमा अख्तियारले थाल्याे छानबिन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।