बुधबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचारहरू
चाचन हत्याकाण्डका दोषीलाई राष्ट्रपतिको माफी
चाचन हत्याकाण्डका दोषी निरज केसीलाई सरकारले कैद मिनाहा गर्दै रिहा गरेको छ।
प्रजातन्त्र दिवसका अवसरमा गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोषी केसीलाई कैद आममाफी गरेकी हुन्।
कैद माफी भएसँगै उनी बुधबारै कारागारमुक्त भइसकेका छन्।
केसीको संलग्नतामा २०६७ चैत २७ गते भारत राजस्थान घर भई काठमाडौंमा व्यापार गर्दै आएका अञ्जनीकुमार चाचनको गणबाहलमा गोली हानी हत्या भएको थियो।
थप समाचार : ‘उत्सव’को बाहनामा गम्भीर अपराधीलाई माफी
संक्रमण फैलिएको भन्दै नेपाल मेडिकल कलेजको शल्यकक्ष बन्द
काठमाडौं- जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पतालको शल्यकक्षमा संक्रमण फैलिएको छ।
आइतबार र सोमबार शल्यक्रिया गरिएका तीन जना बिरामीमा एकै खालको संक्रमण देखिएपछि अस्पतालले शल्यकक्ष नै बन्द गरेको छ।
शल्यक्रिया गरेका तीन जना बिरामीमा संक्रमण फैलिएपछि उनीहरुको थप उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। तीनजनामध्ये एक जनाको अवस्था गम्भिर रहेको छ।
दुई जनाको सोही अस्पतालमा र गम्भीर रहेका बिरामीलाई थप उपचारका लागि मेडिसिटी अस्पतालमा रेफर गरिएको अस्पतालका एक कर्मचारीले जानकारी दिए।
थप समाचार : संक्रमण फैलिएको भन्दै नेपाल मेडिकल कलेजको शल्यकक्ष बन्द
टुंगिएन कांग्रेस-फोरम
नेपाली कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकसँगको समायोजन प्रक्रियाले दुई वर्ष बितिसक्दा पनि अन्तिम रुप पाउन सकेको छैन। केन्द्रीय सदस्य र तल्लो तहमा समायोजन प्रक्रिया सुस्त गतिमा छ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा २०७४ असोजमा विलय भएको थियो। पार्टी उपसभापति प्राप्त गर्ने गरि गच्छदारले पार्टीलाई कांग्रेससँग मिलाएका थिए। तर उनले उक्त पद प्राप्त गर्न भने एक वर्षभन्दा बढी समय लागेको थियो। २०७५ कार्तिकमा गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो। उनलाई सभापति बनाउँदा पार्टीभित्र विरोध भएको थियो।
यो प्रक्रियाले अझसम्म पूर्णता पाउन सकेको छैन।
थप समाचार : दुई वर्षमा पनि टुंगिएन फोरम लोकतान्त्रिक समायोजन
राज्यपक्षबाटै ७ जनाको हत्या
सन् २०१९ मा राज्य पक्षले नै ७ जनाको हत्या गरेको तथ्यांक अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको छ। बुधबार सार्वजनिक सो प्रतिवेदनअनुसार देशका विभिन्न भागमा सरकार पक्षबाटै ७ जनाको हत्या गरिएको उल्लेख छ। राज्यपक्षबाट हत्या गरिएका सबै पुरुष भएको समेत इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ।
सन् २०१९ मा ३ सय ५८ हत्याका घटना भएको उल्लेख गरेको सो प्रतिवेदनमा अन्य पक्षबाट ३ सय ५१ जनाको हत्या भएको तथ्यांक छ। अन्य पक्षले १ सय ९९ महिलाको हत्या गरेको छ भने १ सय ५२ पुरुषको हत्या भएको छ। सन् २०१८ मा ३ सय २८ जनाको हत्या भएकोमा २०१९ मा ३ सय ५८ जनाको हत्या हुनुले मानवअधिकार उल्लंघन र ज्यादतीका घटना बढेको देखिएको प्रतिवेदनमा उल्लेख छ।
थप समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।
उपसभामुख कहिले?
सभामुखको गाँठो फुकाउन उप-सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ।
हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले माघ ६ गते उक्त पदबाट राजीनामा दिएकी थिइन्।
संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले शिवमायाको राजीनामा गराएको थियो।
अहिले हिउँदे अधिवेशन चलिरहेको छ। संविधानअनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण छिटै यो अधिवेशन अन्त्य हुँदैछ। फागुन र चैत महिनाको पहिलो हप्तासम्म यो अधिवेशन चलेपनि वैशाखमा प्रि-बजेट छलफल गराउनुपर्नेछ।
बजेट आउनुभन्दा एक महिनाअघि संसदमा प्रि-बजेट र बजेटका सैद्धान्तिक पक्षका बारेमा छलफल गर्नुपर्ने भएकाले सरकार र राजनीतिक दल निर्वाचनमा केन्द्रित हुने देखिँदैन।
बजेट पछि पनि दलहरु बजेटको समिक्षा र पारित गर्ने छलफलमा केन्द्रित हुने भएकाले अझै केही समय लम्बिने निश्चित छ।
थप समाचार : प्रतिनिधिसभाले तत्काल उपसभामुख नपाउने
महासंघमा चुनावी गतिविधि
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ)को ५४औं वार्षिक साधारणसभा चैतको अन्तिम साता हुँदै छ। तर, महासंघको चुनावी माहोल भने दिनानुदिन पेचिलो बन्दै गइरहेको छ। व्यवसायीहरू विभिन्न समूह बनाएर चुनावी तालमेलमा होमिएका छन्।
किशोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि महासंघको शक्ति समीकरण कसिलो र रोचक बन्दै गइरहेको छ। ५१औं वार्षिक साधारणसभामा वरिष्ठ उपाध्यक्षमा गोल्छासँग पराजित भएका प्रधानले फागुन १ गते विराटनगरबाट पुनः वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरे।
प्रधानको उम्मेदवारीसँगै महासंघमा स्वतः वरिष्ठ उपाध्यक्ष बन्ने र ३ वर्षपछि महासंघको नेतृत्व लिने व्यवसायी चन्द्र ढकालको योजनामा धक्का लागेको छ। ढकाल सहजै वरिष्ठ उपाध्यक्ष बन्ने वातावरण पनि धमिलिएको छ। यसको एउटै कारण हो, स्वतः अध्यक्ष हुने गोल्छा, निर्वतमान अध्यक्ष मुरारका, पूर्वअध्यक्ष कुशकुमार जोशी र विनोद श्रेष्ठजस्ता प्रभावशाली पात्रहरुको सहयोग प्रधानका पक्षमा।
थप समाचार : चन्द्र ढकालका लागि महासंघको चुनावमा किन बग्दैछ उल्टो गंगा?
मुख्य मुद्दामै अलमलियो प्रदेश-५ सरकार
प्रदेश-५ सरकार गठन भएको दुई वर्ष पुरा भएको छ। दुई वर्षअगाडि शून्यबाट काम सुरु गरेको प्रदेश सरकारले अत्यावश्यक कानुन निर्माण गरेर काममा अगाडि बढेपनि मुख्य मुद्दा भने टुङग्याउन सकेको छैन।
सरकार गठन भएको दुई वर्ष बितिसक्दासम्म सरकारले प्रदेश-५ को स्थायी राजधानी र नामाकरण गर्न सकेको छैन। सरकारले देखिने गरी काम गर्न नसक्दा जनस्तरमा समेत सरकारको आलोचना हुने क्रम बढेको छ।
संविधानअनुरुप प्रदेश सभा गठन भएको ६ महिनाभित्र प्रदेशको नाम र राजधानी तोकिनुपर्ने हो। तर, सरकारमा सहभागी दल नेकपाका कारण नै अहिलेसम्म प्रदेशले नाम र राजधानी पाउन नसकेको हो।
थप समाचार : मुख्य मुद्दामै अलमल
'स्टार खेलाडीले मात्र उपाधि जितिन्न'
सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबका प्रशिक्षक प्रकाश कटुवालले स्टार खेलाडी भएकाले मात्र आफ्नो क्लबले नजितेको बताएका छन्। नेपाल लाइभसँगको विशेष अन्तर्वार्तामा प्रशिक्षक कटुवालले टिमवर्कका कारण क्लबले उपाधि उचालेको बताएका छन्।
'उपाधि जित्नुको मुख्य आधार एउटा मात्रै कुरा होइन, त्यसमा धेरै कुरा मिल्नुपर्ने हुन्छ। खेलाडीको मेहनत र प्रदर्शन त मुख्य कुरा हुँदै हो, त्योसँगै खेलाडीको अवस्था र खुबी बुझेर प्रयोग गर्न जान्नुपर्ने हुन्छ,' उनले भनेका छन्, 'स्टार खेलाडी भएर मात्र त उपाधि जितिँदैन। स्टारहरुमा पनि मतभिन्नता हुनुभएन, टिमवर्क हुनुपर्यो। फुटबलमा एक समय एक टिमबाट ११ जना नै खेल्ने त हो, खेल्न पाइएन भनेर रिसाउने भयो भने राम्रो हुँदैन।'
थप समाचार : स्टार खेलाडीले मात्र उपाधि जितिँदैन : प्रवेश कटुवाल [अन्तर्वार्ता]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।