काठमाडौं–नेपाली कांग्रेसमा विलय भएको फोरम लोकतान्त्रिकसँगको समायोजन प्रक्रियाले दुई वर्ष बितिसक्दा पनि अन्तिम रुप पाउन सकेको छैन। केन्द्रीय सदस्य र तल्लो तहमा समायोजन प्रक्रिया सुस्त गतिमा छ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक कांग्रेसमा २०७४ असोजमा विलय भएको थियो। पार्टी उपसभापति प्राप्त गर्ने गरि गच्छदारले पार्टीलाई कांग्रेससँग मिलाएका थिए। तर उनले उक्त पद प्राप्त गर्न भने एक वर्षभन्दा बढी समय लागेको थियो। २०७५ कार्तिकमा गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो।
उनलाई सभापति बनाउँदा पार्टीभित्र विरोध भएको थियो। प्रक्रियागत रुपमा उपसभापति नबनाएको संस्थापनइतर समूहको आरोप थियो। संस्थापन पक्षले राजनीतिक निर्णयका आधार गच्छदारलाई उपसभापति बनाएको दाबी गरेको थियो। पार्टीको अघिल्लो विधानमा दुई उपसभापतिको व्यवस्था नभए पनि राजनीतिक निर्णयलाई आधार बनाइएको थियो। संसोधित विधानमा भने निर्वाचित दुई उपसभापतिको व्यवस्था गरिएको छ।
गत असोजमा बसेको केन्द्रीय समिति बैठकले ११ केन्द्रीय सदस्य गच्छदार पक्षलाई छुट्याएको थियो। गच्छदारले भने केन्द्रीय सदस्यको नाम टुंग्याउन सकेका छैनन्। उनको समूहबाट केन्द्रीय सदस्यमा तत्कालीन उपाध्यक्ष रामजनम चौधरी, महासचिव जितेन्द्रनारायण देव, कोषाध्यक्ष शिव गुर्माछाने बन्दैछन्। केन्द्रीय सदस्यको चर्चामा भारतेन्दुकुमार मल्लिक, गोपाल दहित, गणेश लामा, महेश कोर्मोचा, वीरेन्द्र नेपाली, कृष्ण दुलाल, योगन्द्र चौधरी, सुमित्रा थारु, नसिद सिद्धिकी, हरि न्यौपाने, गीता राणालगायत छन्।
केन्द्रीय सदस्यका दाबेदार दुलालले भने,‘हाम्रो तर्फको नाम टुंग्याउने जिम्मेवारी पार्टी उपसभापतिलाई दिइएको छ। केही दिनमा टुंगिएला।’ आफ्नो समूहको नाम टुंगो लगाउने जिम्मेवारी पूर्व अध्यक्ष गच्छदारलाई दिएको उनले बताए। गत महासमिति बैठकमा गच्छदार समूहबाट दुई सय प्रतिनिधि छनोट गरिएको थियो।
तत्कालीन फोरम लोकतान्त्रिकले देशभर ७५ हजार सदस्य रहेको दाबी गरेको छ। पार्टी संगठन ६१ जिल्लामा रहेको दुलालले जानकारी दिए। तत्कालीन फोरमका सक्रिय संगठन रहेको २४ जिल्लामा पदाधिकारीसहित समायोजन गर्ने निर्णय पार्टीले गत असोजमा गरेको थियो।
त्यसअनुसार १४ जिल्लामा गच्छदार समूहबाट उपसभापति बन्ने भएका छन्। उक्त समूहले उपसभापति प्राप्त गर्ने अधिकांश जिल्ला तराइका छन्। काभ्रे, झापा, रुपन्देही, बारा, बाँके, मोरङ, सुनसरी, कैलाली, कैलाली, बर्दिया, सप्तरी, सर्लाही, दाङ, पर्सामा तत्कालीन फोरम लोकतान्त्रिकले उपसभापति प्राप्त गर्ने भएको छ। नौं जिल्लामा सहसचिवसहित समायोजन भएको छ। कञ्चनपुर, ओखलढुङ्गा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु, उदयपुर र महोत्तरीमा गच्छदार समूहबाट सहसचिव बनेका छन्।
मोरङमा गच्छदार समूहबाट भक्तिनाथ माझी उपसभापति बनेका छन् भने सहसचिवमा प्रदीपकुमार विश्वासको नाम सिफारिस भएको छ। सुनसरी उपसभापतिमा हरिलाल मेहता तथा सहसचिवमा देवनारायण मेहता छन् भने कैलालीमा विरुप्रसाद चौधरी उपसभापति बनेका छन्। बर्दियामा गोविन्दप्रसाद थारु उपसभापति र महादेव चौधरी सहसचिव बनेका छन्।
सप्तरीमा प्रभुनारायण चौधरी उपसभापति र दिपक गुप्ता सहसचिव बनेका छन्। सर्लाहीमा रामवली राय, दाङमा हिरालाल चौधरी, पर्सामा राजकुमार गुप्ता, काभ्रेमा गोविन्दबहादुर थापा, झापामा देवीप्रसाद राजवंशी, रुपन्देहीमा सरिताकुमारी चौधरी, बारामा अमिरीलाल पाल र बाँकेमा फुलाराम थारु गच्छदार समूहबाट उपसभापति बनेका छन्।
तत्कालीन फोरम लोकतान्त्रिकबाट सहसचिवमा ओखलढुङ्गामा शिवकुमार खड्का, सिरहामा बेचन महतो, धनुषामा नरेश यादव र रौतहटमा मनोज शर्मा छन्। त्यस्तै, चितवनमा राजन कार्की, कपिलवस्तुमा रामसमजु चौधरी, कञ्चनपुरमा पुस्कल चौधरी, उदयपुरमा विजयकुमार सिंह, महोत्तरीमा ललन सिंह सहसचिव बन्ने भएका छन्।
पार्टी उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा बनेको समायोजन कार्यसमितिले जिल्ला पदाधिकारीको नाम बुधबार टुंग्याएको छ। तत्कालीन फोरम लोकतान्त्रिकका नेता तथा कार्यकर्ता समायोजन गर्न उक्त समितिले मापदण्ड बनाएको थियो। उक्त कार्यदलले एक हजारभन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति, सह–सचिवसहित आठ सदस्य उपलब्ध गराउने निर्णय गरिएको थियो। गच्छदारको सुनसरी क्षेत्र नं ३ मा भने फरक मापदण्ड बनाइएको थियो। उनको क्षेत्रमा गच्छदार समूहबाट नौं सदस्य हुने गरि क्षेत्रीय समिति बनाउने निर्णय भएको थियो।
फोरम लोकतान्त्रिकका सात सयभन्दा बढी र एक हजारभन्दा कम क्रियाशील सदस्य रहेको प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा गच्छदार पक्षलाई उपसभापति, सहसचिव १÷१ र ५ जना सदस्य हुने गरी कार्यदलले समायोजनको मापदण्ड बनाएको थियो।
सात सयभन्दा कम र तीन सयभन्दा बढी क्रियाशील सदस्य रहेका प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा उपसभापति एक जना र तीन सदस्य गच्छदार समूहले प्राप्त गर्नेछ। तत्कालीन फोरम लोकतान्त्रिकका तीन सयभन्दा कम र एक सयभन्दा बढी क्रियाशील सदस्य रहेको अवस्थामा उक्त समूहले प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिमा एक सहसचिव र दुई सदस्य प्राप्त गर्नेछ।
पार्टी निर्वाचन समितिलाई तेश्रोपटक समेत गरि तल्लो तहका समायोजन गर्न फागुन १५ सम्मको समय निर्धारण गरिएको छ। जिल्ला पार्टी कार्यालयहरुले आफ्ना सदस्यको नाम अद्यावधिक नगरेकाले समायोजन सकिन समय लागेको निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए। पछिल्लोपटक थपिएको समय भित्रै समायोजनको कार्य सक्ने उनले जानकारी दिए। प्रदेश २ का जिल्लाहरुबाट नामावली प्राप्त हुन ढिलो भएको बताउँदै घिमिरेले भने,‘अबको एक सातामा तल्लो तहका सबै समायोजन सकिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।