काठमाडौं- राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको छ।
बिहीबार सभापति निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो।
पार्टी उपसभापति विजयकुमार गच्छदालाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएपछि नेपाली कांग्रेसले आपत्ति जनाएको थियो।
कांग्रेसले भातृसंस्था र पार्टी परिचालन गर्ने रणनीति तय गर्न भातृसंस्थाका पदाधिकारीको बैठक समेत बोलाएको छ।
पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे बोलाइएको बैठकले यससम्बन्धी रणनीति तय गर्ने बताइएको छ। ललिता निवास जग्गा प्रकरणमा पूर्वमन्त्रीसमेत रहेका उपसभापति गच्छदारसहित १ सय १० जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विषेश अदालतमा मुद्दा दायर गरेको थियो।
अख्तियारले भूमिसुधार मन्त्रीको हैसियतमा मन्त्रिपरिषदमा पेस गरेको निर्णयले सरकारी जग्गा व्यक्तिको भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको हो। कांग्रेस आकस्मिक बैठकमा पदाधिकारीसहित वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि सहभागी रहेको महामन्त्री शसांक कोइरालाका निजी सचिव भरत तिवारीले जानकारी दिए।
जग्गा काण्डमा मुछिएका पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईगायतलाई मुद्दा दायर नगर्ने, जग्गा किनेका नेकपाका महासचिव विष्णु पौडेलका छोरालाई उन्मुक्ति दिने तर गच्छदारलाई मात्र दोषीका रुपमा मुद्दा दायर गरेकोमा कांग्रेसका नेताहरुले आलोचना गरेका छन्।
गच्छदार उपप्रधान तथा भाैतिक योजना मन्त्रीहुँदा निवास विस्तारको निर्णय भएको थियो। सो निर्णयको आधारमा मोही नै नभएका १४ जना नक्कली मोही कायम गराएर १३ रोपनी बढी सरकारी जग्गा ब्यक्तीको नाममा गरेको खुलेको थियो। तत्कालीन सचिव दीप बस्न्यातको हस्ताक्षर रहेको प्रस्तावमा ‘नेपाल सरकार समरजंग कम्पनीको नाममा ललिता निवासको क्याम्प क्षेत्रको चार किल्लाभित्र रहेको २७ रोपनी ७ आना २ पैसा १ दाम सरकारी जग्गामा मोही भाग कट्टा गरी बाँकी रहेको १३ रोपनी ११ आना ३ दाम जग्गा र साविक बाटो तथा राजकुलोसमेतको क्षेत्रफल १५ आना गरी १४ रोपनी १० आना, तीन दाम जग्गा मिलान गरी प्रधानमन्त्री निवास क्षेत्र परिसर दक्षिणतर्फ विस्तार गर्ने उल्लेख थियो ।
सो निर्णय गर्दा माधवकुमार नेपाल प्रधानमन्त्री थिए। मन्त्रीपरिषद् निर्णय अख्तियारले हेर्न नमिल्ने भन्दै उनलाई प्रतिवादी बनाइएको छैन।
सम्बन्धित समाचार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।