एजेन्सी– झट्ट सुन्दा पत्यार नलाग्न सक्छ वा विश्वास गर्न सकिन्न कि २ वर्षसम्म समुद्रमा डुबेको क्यामेरा बिग्रिएको छैन भनेर कसैले भनेमा वा दाबी गरेमा। तर, ताइवानको तटीय क्षेत्रमा फेला परेको क्यामेराले भने तपाईं विश्वास गर्न विवश बनाउँछ।
ताइवानको तटीय क्षेत्रमा समुद्री विरुवाको जरा र जालमा जेलिएको उक्त क्यामेरा एक विद्यार्थीको हुलले चिन्यो र अहिले त्यो क्यामेरा आफ्नो पुरानै मालिककहाँ फर्किदैंछ।
वाटर प्रुफ केसमा रहेको उक्त क्यामेरा फेला पारेका विद्यार्थीले सम्बन्धित मालिककहाँ पुर्याउन फेसबुकमा उक्त क्यामेराको फोटो पोस्ट गरे उनीहरुले एक दिनमै क्यामेराको मालिक पनि फेला पारे।
‘मलाई क्यामेरा फेरि फिर्ता पाउँछु भन्ने आशा नै थिएन,’ क्यामेराकी मालिक सेरिना सुबाकिहाराले भनिन्, ‘मलाई यसबारे थाहा नै हुने थिएन यदि मेरा साथीहरुले उक्त क्यामेराको फोटो र पोस्ट मलाई देखाएका थिएनन् भने।’

करिब २ वर्षअघि आफ्नो बिदाको समयमा ताइवानको ओकिनावा टापुमा पुगेकी जापानी नागरिक सुबाकिहाराले आफ्नो क्यामेरा त्यहाँ खसालेकी थिइन्।
‘साथीसँग स्कुवा डाइभिङ गर्दा एउटा साथीको अक्सिजन सकियो र उसलाई मेरो सहयोग चाहिएको थियो, त्यही बेला मैले मेरो क्यामेरा गुमाएकी थिएँ,’ सुबाकिहाराले बिबिसीलाई भनिन्।
सन् २०१५ को सेप्टेम्बरमा क्यामेरा समुद्रमै खसेपछि सुबाकिहाराले क्यामेराको माया मारेकी थिइन्, अर्थात् उनले क्यामेरा केही गरी पछि फेला पर्छ भन्ने आशा पनि गरेकी थिइनन्।
क्यामेरालाई पानीबाट बचाउनका लागि उनले त्यसलाई वाटर प्रुफ बक्समा राखेकी थिइन्। जसका कारण क्यामेरा २ वर्षसम्म पानीभित्रै रहे पनि बिग्रनबाट जोगिएको थियो। सुरक्षाका अलावा सुबाकिहाराको क्यामेराले समुद्रमा जलबिहार गर्दै सयौं किलोमिटर दूरी पार गर्दै अन्ततः ताइवानको तटीय क्षेत्रमा उत्रिएको थियो र यसलाई तटीय क्षेत्र सफा गर्न आएका स्कुले विद्यार्थीले फेला पारेका थिए।

‘हाम्रै स्कुलका एक ११ वर्षीय विद्यार्थीले उक्त क्यामेरा फेला पारेका हुन्,’ विद्यार्थी समूहको नेतृत्व गर्दै आएका पार्क लिले बिबिसीलाई भने।
ती विद्यार्थीले उक्त क्यामेरा फेला पार्दा क्यामेरालाई झार र शंखका अवशेषले ढाकेको थियो।
‘हामीले त क्यामेरा फुटेको हो भन्ने सोचेका थियौं, तर एउटा झारको लहरा चुँडाउँदा त्यो बक्सको बटन देखियो र हामीले त्यसलाई खोल्यौं,’ लिले भने।
२ वर्षसम्म विभिन्न अवस्था पार गरेको उक्त क्यामेरामा एक थोपा पनि पानी नपरेको जनाइएको छ, जसका कारण क्यामेरा अहिले पनि चलिरहेको छ।
‘अझ अचम्मको कुरा के थियो भने, ती छात्रले क्यामेराको पावर बटन थिचे र क्यामेरा खुल्यो पनि अर्थात् क्यामेराको ब्याट्री अझै पनि चार्जड् थियो,’ लिने थपे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।