नयाँ दिल्ली (एजेन्सी)– किसानलाई विभिन्न सरसुविधाको माग गर्दै भोक हडतालमा बसेका भारतका सामाजिक अभियन्ता अन्ना हजारेले सातौं दिन अनसन तोडेका छन्।
सरकारले अन्नाका सबै माग सम्बोधन गर्ने वाचा गरेपछि उनले अनसन अन्त्य गरेका हुन्।
अनसन तोडाउन महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडवीस र केन्द्रीय कृषि राज्यमन्त्री गजेन्द्र सिंह शेखावत अनसन स्थल दिल्लीको रामलीला मैदान पुगेका थिए। फडवीसले अन्नालाई जुस खुवाएका थिए।
अन्नाले किसानको आन्दोलनलाई समर्थन गर्दै २३ मार्चदेखि अनसन सुरु गरेका थिए। उनले किसानको उत्पादनको उचित मूल्य, पेन्सन सुविधा र लोकपाल विधेयक संशोधनसहित पारित गर्नुपर्ने लगायतका माग अघि सारेका थिए।
यस्ता थिए अन्नाका ७ माग:
१) किसानको कृषि उपजमा लागतको आधारमा डेढ गुणा बढी दाम मिल्नुपर्ने।
२) कृषिमा निर्भर ६० वर्ष नाघेका किसानलाई प्रतिमहिना ५ हजार रुपैयाँ पेन्सनको व्यवस्था हुनुपर्ने।
३) कृषि मूल्य आयोगलाई संवैधानिक हैसियत र स्वायत्तता दिनुपर्ने।
४) लोकपाल विधेयक पारित गरी लोकपाल कानुन तुरुन्त लागू गर्नुपर्ने
५) लोकपाल कानुनलाई कमजोर बनाउने धारा ४४ र ६३ लाई तत्काल संशोधन गर्नुपर्ने
६) हरेक राज्यमा सक्षम लोक आयुक्तको नियुक्ति हुनुपर्ने।
७) चुनावी पद्धति सुधारका लागि तत्काल केही विशेष निर्णय आउनुपर्ने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।