काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीको सपथ विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटले बिहीबार सुनुवाइ हुन पालो पाएन। न्यायाधीश दीपककुमार कार्कीको इजलासमा पेसी परेको उक्त रिट हेर्न नभ्याइने हुँदै अर्को मितिका लागि सुनुवाइ सरेको छ।
१६ नम्बरमा पालो रहेको उक्त मुद्दाको इजलास बस्न ढिलाइ भएपछि अर्को दिनलाई पेसी सरेको हो। सर्वोच्चका प्रधानन्यायाधीशका रुपमा पदावधि नै नभएको व्यक्तिसँग सपथ लिएको भन्दै राष्ट्रपति भण्डारीको सपथ विरुद्ध बुधबार रिट दायर भएको थियो।
राष्ट्रपति भण्डारीले निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीसँग फागुन २९ गते सपथ लिएकी थिइन्। सोही दिन बिहान पराजुलीको साउन २१ यताको पदावधि अवैधानिक भएको भन्दै न्याय परिषद्का सचिवले उनलाई पत्र पठाएका थिए।
अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले चैत ४ मै सर्वोच्चमा पेश गरेको रिट निवेदन बुधबार मात्र दायर भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।