काठमाडौं– विशेष अदालतले कित्ताकाँट गरे वापत घुस लिने नापी कार्यालय बाँके नम्बर २ नापी सर्वेक्षक जीवछ यादवलाई भ्रष्टाचारी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीशद्वय द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले बिहीबार यादवलाई दोषी ठहर गर्ने फैसला सुनाएको हो। विशेषले यादवलाई १ लाख जरिवाना र ४ महिना कैद सजाय हुने फैसला सुनाएको छ।
यादव नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ रामनगरस्थित साढे आठ धुर जग्गाको कित्ताकाँट गरी लालपुर्जा बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग १ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो। कित्ताकाँट गर्न १ लाख घुस लिएको सूचनाको आधारमा आयोगको टोलीले यादवलाई पक्राउ गरेको थियो।
यादवले लालपुर्जाका लागि ४/५ महिनादेखि लगातार घुस मागेर सेवाग्राहीसँग बार्गेनिङ गरिरहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
माघ ३ नापी कार्यालय बाँके नम्बर २ नापी टोलीका नापी सर्वेक्षक यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको थियो। अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेत अन्तर्गतको सम्पर्क कार्यालय कोहलपुरको टोलीले सर्वेक्षक यादवलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।