काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले बिहीबार संघीय संसदमा सम्बोधन गरेकी छिन्।
संसद्मा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले समृद्धि हासिल गर्नेतर्फ देश अग्रसर हुने विश्वास व्यक्त गरेकी छिन्। 'अब देश संविधानले निर्दिष्ट गरेको दिशामा आर्थिक विकास र समृद्धि हासिल गर्न अग्रसर हुनेछ भन्ने विश्वास लिएको छु', राष्ट्रपति भण्डारीले भनिन्।
'देश संविधानको पूर्ण कार्यान्वयनको चरणमा प्रवेश गरेको छ', राष्ट्रपतिले भनिन्, 'राजनीतिक संक्रमणकालको अन्त्य भई देश स्थायित्व र सम्वृद्धिको युगमा प्रवेश गरेको छ।'
जनताको संवैधानिक तथा कानुनी अधिकार एवं मानवअधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिँदै न्यायपालिकालाई सुदृढ पार्न सम्बद्ध पक्षको ध्यान पुग्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन्।
राष्ट्रपतिले राजनीतिक असन्तुष्टिको हल संसद्बाट खोज्न पनि आग्रह रिन्। 'भर्खरै सम्पन्न भएका निर्वाचनहरुमा नेपाली जनताले उत्साहपूर्ण सहभागिता जनाएर कतै कुनै मतभेद र समस्या भए शान्तिपूर्ण विधिबाट वर्तमान संविधानले सुनिश्चित गरेको लोकतन्त्रको उच्चतम अभ्यासमार्फत प्रतिनिधि संस्थाहरुभित्रैबाट समाधान हुनुपर्दछ भन्ने अभिमत व्यक्त गरेका छन्', उनले भनिन्, 'त्यसैले संसद्मा आम नेपालीको विश्वास प्रतिबिम्बित छ।'
'पौने ३ करोड नेपालीले यातायात, सञ्चार, ऊर्जाको विकास र विस्तार; कृषि पर्यटन र सेवाका क्षेत्रहरुको आधुनिकीकरण र विस्तार; गुणस्तरीय र सुलभ शिक्षा एवं स्वास्थ्य; स्वच्छ खानेपानी र स्वस्थ वातावरण; उद्योग र व्यापारको समूचित विकास; लोकतन्त्रको रक्षा; सामाजिक न्याय र राष्ट्रिय एकता एवं राष्ट्रिय हितको रक्षा र सम्बर्धन गर्दै राष्ट्रिय गौरव र स्वाभिमानलाई अघि बढाएर सुशासन र विकासको बाटो हुँदै समग्र आर्थिक सामाजिक विकासको माध्यमबाट मुलुकलाई समृद्धिको नयाँ उचाइमा पुर्याउन जनप्रतिनिधि संस्थाप्रति उत्तरदायी सरकारबाट काम हुन्छ भन्ने जनताले अपेक्षा गरेका छन्। अझ वर्तमान सरकारको स्पष्ट, दूरदृष्टि र दृढ संकल्पले आमजनतामा उत्साहको सञ्चार गरेको छ', राष्ट्रपतिले आफ्नो सम्बोधनमा भनेकी छिन्।
राष्ट्रपतिले भनिन्, 'राजनीतिक आबद्धताका दृष्टिले कसैलाई सत्तापक्ष र कसैलाई प्रतिपक्ष भन्न सकिएला। तर, आम रुपमा हरेक सदस्यले आफ्ना मतदाताको आशा र भरोसाको सदैव सम्मान गर्नुपर्छ भन्ने मलाई लाग्छ।'
राष्ट्रपति भण्डारीले संसदमा करिब १५ मिनेट सम्बोधन गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।