काठमाडौं- कांग्रेसले चुनावी समीक्षा गर्न बोलाएको केन्द्रीय कार्य समिति बैठकमा युरोपेली युनियन (इयू) प्रतिवेदनदेखि निरन्तर ओरोलो लागेको सेयर बजारसम्मको विषयले प्रवेश पाएको छ। गत शुक्रबारदेखी पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको पराजयका विषयमा सदस्यहरुले धारणा राखेका छन्।
आजको बैठकमा बोल्दै केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले इयूले क्षेत्राधिकारभन्दा बाहिर गएर बोलेको बताए। इयूको प्रतिवेदनले नेपालको सार्वभौम अधिकारमाथि हस्तक्षेप गरेको भन्दै उनले पार्टीले त्यसको संस्थागत रुपमा विरोध गर्नुपर्नेमा जोड दिए।
उनले तीन तहको निर्वाचन सम्पन्न भएर अवस्था सहज बन्दै गए पनि सेयर बजार निरन्तर आरोलो लाग्नु शुभ संकेत नभएको बताए। ‘तीनै तहको निर्वाचन सम्पन्न भई मुलुक सहज अवस्था आएको अवस्थामा सेयर मार्केट ओरालो लाग्नु सुख संकेत होइन। यस बिषयमा नयाँ सरकार गम्भीर बन्नुपर्छ,’ आङ्देम्बेले भने।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा आङ्देम्बेसहित ४ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए। उनीहरुले वाम गठबन्धन र त्यसको भ्रमलाई समयमै चिर्न नसक्दा पार्टीले पराजय भोगेको धारणा राखेका थिए।
बैठक मूलत: पार्टीको चुनावी पराजयमै केन्द्रित भयो। सदस्यहरूले वाम गठबन्धन बनेको र त्यसलाई चिर्न कांग्रेसले बेलैमा पहल नगरेको विषयमा धारणा राखेका थिए।
आज संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेकाले बैठक छोट्याइएको प्रवक्ता शर्माले जानकारी दिए। चैत ९ गतेदेखि जारी बैठकमा ३८ जना केन्द्रीय सदस्यले धारणा राखिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।