काठमाडौं– स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई ललितपुरस्थित होटेल हिमालयमा बिहीबार हुने एक कार्यक्रमको उद्घाटनका लागि निम्तो आयो। कार्यक्रम जलवायु परिवर्तनले स्वास्थ्यमा पार्ने असरका विषयमा भएकाले उनले महत्व दिनुपर्ने ठानिन्। कार्यक्रमको आयोजक पनि स्वास्थ्य मन्त्रालय मातहतकै नेपाल हेल्थ रिसर्च काउन्सिल भएकाले कार्यक्रममा उपस्थित हुनुपर्ने देखियो।
तर, कार्यक्रम तारे होटेलमा भएकाले निम्तो स्वीकार्न मुस्किल पर्यो। त्यसपछि तुरुन्तै आयोजक रिसर्च काउन्सिललाई स्वकीय सचिव राजेश शर्मामार्फत तारेहोटेलमा कार्यक्रम गर्ने खर्चको स्रोतबारे बुझ्न लगाइन्। कार्यक्रमको आयोजक रिसर्च काउन्सिल भए पनि आर्थिक भार विश्व स्वास्थ्य संगठनले उठाउने बताएपछि उनले निम्तो स्वीकारिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मितव्ययिताका लागि सरकार र यसअन्तर्गतका निकायलाई तारे होटेलमा कार्यक्रम गर्न निरुत्साहित गर्ने निर्णय गरेका छन्। सोही अनुसार सरकारी निकाय रिसर्च काउन्सिलले हिमाललय होटेल रोजेको देखेपछि आर्थिक स्रोत सोधखोज गरिएको राज्यमन्त्री अर्यालका स्वकीय सचिव शर्माले बताए। उनले भने, ‘सरकारको निर्णय कार्यान्वयनका लागि स्रोत खोजिएको हो।’
केपी ओली नेतृत्वको सरकारले अतिरिक्त खर्चको भार कम गर्न र मितव्ययिता अपनाउन तारे होटेलमा कार्यक्रम गर्नसमेत रोक्ने तयारी थालेको छ। चालू आर्थिक वर्ष २०७४/७५ को अर्धवार्षिक समीक्षामार्फत अवर्थ मन्त्रालयले अत्यावश्यक बाहेक फजुल खर्च कटौती गर्ने नीति लिएको थियो।
जलवायु परिर्तन र स्वास्थ्य विषयमा दुईदिने कार्यशाला गोष्ठी बिहीबार सुरु भएको छ। गोष्ठीमा जलवायु परिवर्तनले स्वास्थ्यमा पारिरहेको असरका विषयमा विभिन्न ९ अनुसन्धान र रचना प्रस्तुत हुने रिसर्च काउन्सिलका अनुसन्धानकर्ता डा मेघनाथ धिमालले बताए। कार्यक्रमको उद्घाटन राज्यमन्त्री अर्यालले नै गरेकी छिन्। उनले उद्घाटनका क्रममा जलवायु परिवर्तनमा नेपालका कारण ठूलो असर नपरे पनि भोग्नु चाहिँ बढी परिरहेको बताइन्। भनिन्, ‘जलवायु परिवर्तनका कारण स्वास्थ्यमा हुने जोखिमबाट जोगिन हामीले उपयुक्त रणनीति अवलम्बन गर्नुपर्छ। यसका लागि नीति निर्माणतहमा छलफल हुने र तथ्य प्रस्तुत गर्ने कुरा महत्वपूर्ण छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।