काठमाडौं– काठमाडौं महानगरपालिकाले नियम विपरित राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ।
१ वर्षअघि नै अभियानका रुपमा जथाभावी रुपमा राखिएका विज्ञापन तथा होर्डिङबोर्ड हटाइसकेकोमा पुनः जथाभावी विज्ञापन देखिएकाले सुन्दर शहरको परिकल्पनासहित उक्त कार्य शुरु गरेको महानगरपालिकाले जनाएको छ।
यदि कसैको आडभरोसामा नियमविपरित होर्डिङ बोर्ड राखिएको प्रमाण फेला परे पनि कारबाही गरिने कामपाका निर्देशक नवराज ढकालले प्रष्ट पारे।
कामपाका राजस्व विभाग प्रमुख राज्यप्रकाश प्रधानले भने,‘नियमसंगत राखिएका बाहेक सबै विज्ञापन हटाउने र राख्ने व्यक्ति वा संस्थालाई कारबाही गरिन्छ। कुनै पनि बहानामा छुट पाउने अवस्था छैन।’
स्वीकृति दिएभन्दा बढी अनुपातमा विज्ञापन र होर्डिङ बोर्ड बढेकाले महानगरले विशेषरुपमा निगरानी गर्न शुरु गरेको प्रधानले बताए। पहिलो चरणमा विज्ञापन तथा होर्डिङ बोर्ड व्यवस्थित गर्न बोर्ड फाल्ने र सम्पर्कमा एजेन्सी नआए कम्पनीलाई नै उक्त विज्ञापन निकाल्दा लाग्ने खर्च र अन्य जरीवानासहित कारबाही गरिनेछ।
३० वर्ग फुटभन्दा माथिका, झ्याल छोपेर तथा कौशिमा फ्लेक्स बोर्ड राख्न नपाइने प्रावधान रहेको छ। त्यस्तै, छिमेकीको सहमति बीना पनि त्यस किसिमका बोर्ड राख्न नपाइने नियम छ। तर सुपर मार्केट तथा सपिङ कम्प्लेक्समा डिजिटल बोर्ड भने राख्न पाइन्छ।
काठमाडौं महानगरको कानुनी व्यवस्थाअनुसार विज्ञापन तथा होर्डिङ बोर्ड नियमन गर्न विज्ञापन कर नीति—२०७१, विज्ञापन कर निर्देशिका—२०६४ र सर्वोच्च अदालतको आदेशसमेत रहेको छ। जसमा विज्ञापनलाई शून्य गर्नु नभई नियमन गर्नुपर्ने कुरा उल्लेख छ।
हाल कलङ्की, त्रिपुरेश्वर, माइतीघर, सुन्धारालगायत स्थानमा नियमबाहिर रही विज्ञापन राखिएका छन्। त्यस्ता विज्ञापनलाई हटाउनका लागि दैनिकरुपमा कामपाबाट ५ जनाको नगर प्रहरीसहितको टोली खटिने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।