सुर्खेत– कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन्।
केन्द्रले पठाएका गाडीहरु मर्मत गर्दै, चढ्दै गर्नु परेकोले हैरानी बेहोर्नुपरेको मन्त्रीहरु बताउँछन्। प्रधानमन्त्री कार्यालयबाट बा१झ ९१८८ नम्बरको स्कार्पियो गाडी दिइएको छ।
उपलब्ध गराएको गाडीको अवस्था हेर्दा मर्मत नगरी चढ्न नै समस्या छ। ९८ हजार किलोमिटर गुडेको, बढी मर्मत गर्नुपर्ने, टर्बोमा समस्या भएको, एसी नभएको, अगाडिको सीसा फुटेको, ब्याक लाइट नभएका गाडीहरु केन्द्र सरकारले कर्णाली प्रदेशलाई पठाउँदा समस्या भएको हो।
केन्द्र सरकारले कर्णाली प्रदेशका लागि ११ वटा गाडी उपलब्ध गराएको छ। केन्द्रबाट आएका अधिकांश गाडीको अवस्था हेर्दा समस्यै–समस्याले गाँजिएको मात्र छ। केन्द्रबाट आएका बा१झ ९१८८ नम्बरको स्कार्पियो र बा१झ ३८६९ नम्बरको ल्याण्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा रहेको छ। स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा विभागबाट पठाइएको थियो। गाडीको किसिम शीर्षकमा लेखिएको छ, ‘चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने।’
गाडीको व्यवस्थापन गर्नै गाह्रो
केन्द्रले बिग्रीएका र थोत्रा गाडी मात्र पठाएपछि प्रदेश सरकारलाई गाडीको व्यवस्थापन गर्न समस्या भएको छ। १५ वटा गाडी पठाएको जानकारी आएपनि ३ वटा अझै आइनपुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले बताए।
कर्णाली प्रदेशमा अहिले व्यवस्थापनका लागि ३४ वटा गाडी चाहिएको छ। तर केन्द्रले नदिएका कारण प्रदेश सभाका ४ वटा विभिन्न समितिका सभापति, विपक्ष दलका नेता, दलका सचेतक, संसदीय दलका नेताहरुलाई समेत सरकारले गाडी उपलब्ध गराउन सकेको छैन।
त्यस्तै, प्रदेशसभा सचिवालयका सचिव, भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई समेत गाडी छैन। प्रदेश सरकारका कतिपय मन्त्री र सचिवलाई जिल्ला तथा क्षेत्रीय कार्यालयसँग समन्वय गरेर गाडीको जोहो गरिएको छ। अस्थायी रुपमा गरिएको व्यवस्थाले दिर्घकालीन समाधान निकाल्न नसकिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
(हेमन्त के सी/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।