सुर्खेत– आर्थिक रुपमा पिछडिएको कर्णाली प्रदेशमा लगानी गर्न निजी क्षेत्र इच्छुक देखिएको छ। व्यवसायीहरुले पूर्वाधारको विकास र लगानीमैत्री वातावरण सिर्जना भए ठूलो उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।
कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धि सम्बन्धी छलफलमा सहभागी हुन सुर्खेत आएकी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले आफूहरू कर्णालीको समृद्धिका लागि ठूला आयोजना र उद्योगमा लगानी गर्न तयार रहेको बताइन्।
राणाले लगानीको वातावरण बनाउने जिम्मेवारी भने सरकारको भएको धारणा राखिन्।
‘प्रदेश र स्थानीय सरकारले पूर्वाधारको विकास गर्नुपर्छ र सुरक्षाको ग्यारेन्टी दिनुपर्छ’, उनले भनिन्, ‘हामी यहाँ ठूला उद्योगमा लगानी गर्न तयार छौं।’
अर्का उद्योगी एवं महासंघका उपाध्यक्ष किशोर प्रधानले आफू पनि कर्णालीमा लगानी गर्न इच्छुक रहेको बताए।
‘अब सरकार पूर्वाधारमा लागोस्, निजी क्षेत्र आर्थिक विकासका लागि लगानी गर्न तयार छ’, उनले भने।
पर्यटन, जलविद्युत् र जडिबुटीमा ध्यान
कुनै पनि ठूलो उद्योग स्थापना हुन नसकेको कर्णाली प्रदेशमा औद्योगिक विकासका लागि प्रशस्त सम्भावना छन्। विशेषगरी पर्यटन, जलविद्युत् र जडिबुटीमा लगानीकर्ताहरुको ध्यान गएको छ।
महासंघकी अध्यक्ष राणा भन्छिन्, ‘निजी क्षेत्र कर्णालीमा लगानी गर्न आतुर छ। यहाँको प्राकृतिक स्रोत परिचालन गरेर प्रदेशको अर्थतन्त्र सबल बनाउन सकिने सम्भावना रहेकाले अब प्रदेश सरकारले पूर्वाधारलाई प्राथकिता दिनुपर्छ, हामी उद्योगमा लगानी गर्छौं।’
प्रधानले पनि हालसम्म पिछडिएको भए पनि कर्णाली प्राकृतिक स्रोतमा धनी रहेको र यसको सदुपयोग गर्न सके देशकै समृद्ध प्रदेश बन्ने बताए।
‘यहाँ पर्यटनको धेरै सम्भावना छ, सरकारले पूर्वाधारलाई प्राथमिकता देओस्, हामी ठूला होटलमा लगानी गर्न आतुर छौं। विदेशी लगानी भित्र्याउन पनि हामी सहयोग गर्नेछौं।’
कर्णाली प्रदेशमा रारा, शे–फोक्सुण्डो, बुलबुल, बराह, कुपिण्डे दह लगायतका तालदेखि काँक्रेविहार, दैलेखको ज्वाला, डोल्पाको त्रिपुरासुन्दरी, देउतीबज्यै मन्दिर लगायत थुप्रै पर्यटकीय स्थल छन्। त्यसैगरी जलयात्रा, प्याराग्लाइडिङ लगायतको पनि उत्तिकै सम्भावना छ। त्यसैले ठूला होटेलमा लगानी गरी पर्यटकहरुलाई आकर्षित गर्न व्यवसायीहरु इच्छुक देखिएका छन्।
भेरी र कर्णाली जस्ता दुई ठूला नदीसहित जलस्रोतको प्रशस्त सम्भावना पनि कर्णाली प्रदेशमा छ। त्यसैले यहाँको जलस्रोत लगानीकर्ताहरुका लागि अर्को आकर्षक क्षेत्र हो। त्यसैगरी, यार्सा गुम्बा जस्तो बहुमूल्य जडिबुटीसहित विभिन्न प्रजातिका जडिबुटीहरु पनि कर्णाली प्रदेशमा प्रशस्त मात्रामा पाइन्छ। त्यसैले व्यवसायीहरु जडिबुटीजन्य व्यवसायमा लगानी गर्न पनि आकर्षित भएका छन्।
लगानीमैत्री वातावरणको खोजी
महासंघकी अध्यक्ष राणाले प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्दै कर्णालीको आर्थिक समृद्धिमा जुट्न आफूहरू तयार रहेको भन्दै उनले सुरक्षा र लगानीमैत्री आर्थिक नीति बनाउन आग्रह गरिन्। कर्णालीमा अहिले पनि ठूलो संख्यामा युवाहरू विदेशिने गरेको भन्दै अध्यक्ष राणाले निजी क्षेत्रले उद्योगमा लगानी गरेर रोजगारी सिर्जना गर्ने वचन दिइन्।
सरकारले नीतिगत रुपमा पनि लगानीका लागि व्यवसायीहरुलाई आकर्षित गर्न सक्नुपर्ने र सुरक्षाको पनि ग्यारेन्टी गर्न सक्नुपर्ने राणाको भनाइ छ। उनले यी दुई कुराको प्रत्याभूति हुनसके कर्णाली प्रदेशमा ठूलो लगानी भित्रिने उनको भनाइ थियो।
सुरक्षा दिन्छौं, ढुक्क भएर लगानी गर्नुस् : मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताए। निजी क्षेत्रलाई लगानी गर्न सरकारले ढोका खुला गरेको भन्दै उनले सहकार्य र समन्वय गरेर सरकार अगाडि बढ्ने उल्लेख गरे।
उनले भने, ‘सरकार एक्लैको प्रयासबाट सम्भव छैन, सामूहिक प्रयासबाट समृद्ध प्रदेश बनाउने प्रयत्न गरौं। निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले लगानीमैत्री आर्थिक नीतिहरू तय गर्नेछ, हातेमालो गरेर कर्णालीमा विकासको काँचुली फेरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।