दार्चुला– भारतीय पक्षले एकतर्फी रुपमा सीमा नदीको रुपमा रहेको महाकाली नदीमाथि पुल बनाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरीलाई खटाइएको छ। सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म, दार्चुलाबाट बन्दोबस्तीका सामानसहित १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु प्रस्थान गरेको छ।
भारतीय पक्षले गत फागुनमा नेपालको सहमतिबिनै व्यास गाउँपालिकाको वडा नं २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा ४ वटा पुल निर्माण गरेको विषय प्रकाशमा आउको थियो। सञ्चारमाध्यममा समाचार आएपछि सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रको रेखदेख गर्न त्यसतर्फ प्रस्थान गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए।
‘गुल्मबाट प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा बन्दोबस्तीका सामानसहित मंगलबार सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न र सीमा क्षेत्रमा ओसारपसार हुने अवैध सामान नियन्त्रण गर्न टोली त्यसतर्फ गएको हो,’ गुल्मपति जोशीले भने।
प्रनानि चन्दको कमाण्डमा खटिएको १५ जनाको टोली मौसमले साथ दिएमा व्यास गाउँपालिकाको तिंकरसम्म पुग्ने उनले बताए। सशस्त्र प्रहरीले त्यहाँ रहँदासम्म सीमा क्षेत्रमा हुने अवैध किसिमका गतिविधिको निगरानी गर्नेसमेत जनाइएको छ।
यसअघि फागुन २८ गते नेपाली सेनाको एक टुकडी सीमा क्षेत्रको वस्तुगत अवस्था बुझ्न तथा दुर्गम क्षेत्रमा नेपाली सेनाको उपस्थिति देखाउन व्यास गाउँपालिकाको छाङरु गएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।