काठमाडौं– बिग्रिएको १० वर्षपछि काठमाडौंका विभिन्न ठाउँमा आजबाट ट्राफिक लाइट पुन: सञ्चालना आएका छन्। सम्बन्धित निकायले चासो नदिएपछि ट्राफिक प्रहरीले आफ्नै सक्रियतामा मर्मत गरिएका लाइट ७ वटा चोकमा मंगलबारदेखि सञ्चालनमा ल्याएको हो।
नयाँ बानेश्वर चोक, नारायणगोपाल चोक, पद्मोदय मोड, पुतलीसडकको कुमारी बैंक अगाडिको चोक, सुन्धाराको काठमाडौं महानगरपालिका अगाडि, सोल्टीमोड र नारायणगोपाल चोकमा ट्राफिक लाइट आजदेखि बालिएको हो।
बानेश्वर चोकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले मर्मत गरिएका ट्राफिक लाइटको उद्घाटन गरे। ती चोकमा ट्राफिक लाइट बलेपछि यातायात व्यवस्थापन केही सहज हुने ट्राफिक प्रहरीको अपेक्षा छ। १० वर्षअघि ती ट्राफिक लाइट बिग्रिएका थिए। मर्मतको जिम्मेवारी सडक विभागको भए पनि बजेटको कारण देखाउँदै मर्मतमा चासो दिएको थिएन। ट्राफिक लाइट मर्मतका लागि एसियाली विकास बैंक (एडिबी) लगायत दातृ निकायले चासो दिए पनि त्यो योजनामै सीमित भएको थियो। उपत्यकामा तीनकुने–सूर्यविनायक सडकखण्डमा मात्र ट्राफिक बत्ती चालू अवस्थामा छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।