काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिको निर्वाचन गर्ने विषयमा देखिएको अन्योल सामाधन हुने संकेत देखिएको छ।
उच्च अदालत पाटनले गत बिहीबार एन्फा निर्वाचन तत्कालका लागि रोक्न दिएपछि चैत १४ का लागि तय भएको निर्वाचन स्थगित भएको थियो। भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघको तर्फबाट दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न आदेश दिएको थियो। दुवै जिल्लाले मताधिकारबाट बञ्चित भएको भन्दै रिट दायर गरेको थिए।
मताधिकारका लागि दुवै जिल्लाको निर्वाचन गर्ने बाटो खुलेसँगै अन्योल समाधान हुने संकेत देखिएको हो। एन्फाले मकवानपुर जिल्लाको निर्वाचन आगामी चैत २३ गते गर्न सोमबार निर्देशन दिएको थियो। यता भक्तपुरको निर्वाचन रोक्न भक्तपुर फुटबल क्लबका अध्यक्ष राम प्रजापतिसहितले हालेको मुद्दा मंगलबार फिर्ता लिएका छन्। अब भक्तपुर जिल्लाका लागि पनि निर्वाचन गर्ने बाटो खुलेको छ।
योसँगै मताधिकारबाट बन्चित भएको भन्दै भक्तपुर जिल्ला फुटबल संघका अध्यक्ष गौतम सुजाखुले उच्च अदालत पाटनमा हालेको मुद्दाको पनि सान्दर्भिकता सकिएको छ। दुवै जिल्लालाई निर्वाचन गरी मताधिकार गर्ने बाटो खुलेकाले पटनमा हालिएको मुद्दा औचित्यहिन बनेको हो।
एन्फाका अध्यक्ष नरेन्द्रलाल श्रेष्ठले विवाद समाधन हुने संकेत देखिएको नेपाल लाइभलाई बताए। 'मकवानपुरको निर्वाचन अघि बढेको छ। भक्तपुरमा पनि साथीहरुले मुद्दा फिर्ता लिएको कुरा आएको छ, ' उनले भने। उनले वकिलसँग छलफल गरेर भक्तपुरको विषयमा निर्णय लिने उनले बताए। पाटनमा रिट दायर गर्नेहरुले मताधिधिकार पाएको भन्दै निवेदन दिएको अवस्थामा मात्र एन्फाको निर्वाचन हुन सक्ने श्रेष्ठले बताए।
एएफसी प्रतिनिधिसँग छलफल
एन्फा निर्वाचनको विषयमा अन्योल बढेपछि एसियाली फुटबल महासंघ (एएफसी)का प्रतिनिधि रवि कुमार काठमाडौं आएका छन्। उनले सोमबार अध्यक्षका प्रत्यासी कर्माछिरिङ शेर्पा पक्षसँग छलफल गरेका छन्। शेर्पाले उनीसँग आफ्ना कुरा राखेको बताए। शेर्पाका अनुसार नेपाललाई फिफाको निलम्बन रोक्न, २ हप्तामा एन्फाको निर्वाचन गर्ने वातावरण बनाइदिन, मुद्दा हाल्ने पक्षलाई मुद्दा फिर्ता लिने वातावरण बनाइदिन र कार्यतालिका बनाएर निर्वाचन गर्ने विषयमा कुरा राखेको बताए। जवाफमा कुमारले सवै पक्षसँग भेटेर फिफा र एएफसीलाई रिपोर्ट पठाउने बताएको शर्पाले बनाए।
एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ। कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ। शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सिइओ इन्द्रमान तुलाधर लगायतको साथ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।