काठमाडौं- सिन्धुपाल्चोकस्थित ३ मेगावाट उत्पादन क्षमताको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडका २३ सञ्चालकविरुद्ध कर्जा भुक्तानी गर्ने ३५ दिने सार्वजनिक सुचना जारी भएको छ।
आयोजनामा सानिमा बैंक लिमिटेडको अगुवाइमा बैंक अफ काठमाडौं, एनएमबी बैंक, एनआइसी एसिया बैंक र ग्लोबल आइएमई बैंकको लगानी छ। कर्जासम्बन्धी शर्त उल्लंघन गरेको भन्दै सानिमा बैंकले बुधबार सूचना प्रकाशित गर्दै ३५ दिनभित्र ऋण तिर्न आउन भनेको हो।
भैरवकुण्ड हाईड्रोपावरबाट विद्युत उत्पादन गर्न ४ वटा बैंकबाट सहवित्तीयकरण कर्जा लिएकोमा बैंकलाई समयसमयमा बुझाउनुपर्ने साँवा, व्याज, किस्तावापतको ४० करोड बढी रकम आयोजनाले बुझाएको छैन। विभिन्न समयमा लिखित तथा मौखिक रुपमा कर्जा रकम भुक्तानी गर्नका लागि जानकारी गराउँदै आएको भए पनि उक्त आयोजनाले अटेरी गरेर रकम नबुझाएको बैंकले जनाएको छ।
आयोजनाका सञ्चालकहरू अर्जुनबहादुर थापा, डोरबहादुर भण्डारी, साङबु शेर्पा, नरेशलाल श्रेष्ठ, राजेश श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खडका, कमलकुमार श्रेष्ठ, सीताराम बस्नेत, रामकाजी पौडेल, र चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठका नाम कर्जा चुक्ता गर्न आउने सूचना जारी गरिएको छ। त्यसैगरी सञ्चालकहरू श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्चु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विष्णुबहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवमराम श्रेष्ठ र मुकुन्दप्रसाद तिमिल्सिनालाई तोकिएको समयसीमा भित्र ऋण तिर्न आउन बैंकले भनेको छ।
३५ दिनभित्र कर्जा रकम नबुझाए नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार उक्त संस्थालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने तथा कर्जाको सुरक्षणका लागि बैंकमा धितो रहेको परियोजनालगायत अन्य चल÷अचल सम्पत्ति बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानुनबमोजिम सहभागी बैंकहरुले आफ्नो कब्जामा लिई लिलाम बिक्री गर्ने पनि बैंकले जनाएको छ।
भैरवकुण्ड हाइड्रोपावर लिमिटेडका नाममा मालपोत कार्यालय सिन्धुपाल्चोकमा दर्ता रहेको साविक तातोपानी गाविस ४ को कित्ता नम्बर १९२ को १० रोपनी ५ आना ३ पैसा र कित्ता नम्बर २०६को ४ रोपनी ३ आना १ पैसा १ दाम जग्गा धितोका रुपमा राखिएको छ। त्यस्तो त्यो जग्गामा निर्मित ३ मेगावाट जडित क्षमता रहेको भैरवकुण्ड हाइड्रोपावर परियोजना र सोअन्तर्गत रहेका घर, भवन, टहरा, र आयोजनामा जडान भएका मेसिनरी उपकरणलाई समेत धितोका रुपमा राखिएको छ।
यो आयोजनाका लागि ऋण लिँदा काठमाडौं महानगरपालिका २५ मा रहेको सामना मल्टिपल इन्भेस्टमेन्ट प्रालि, वडा नंम्बर ३४ मा रहेको एनएमके ग्रुप प्रालि, ललितपुर साविक वडा नम्बर ९ मा रहेको सुविधा शक्ति इन्भेन्टमेन्ट कम्पनी प्रालि तथा मल्टिपल इन्भेस्टमेन्ट कम्पनी प्रालि र ललितपुर उपमहानगरपालिका ३ मा रहेको लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जमानिकर्ता बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।