काठमाडौं– गीत चोरीको आरोपमा अनमोल केसी अभिनित फिल्म 'कृ' का निर्माता सुवास गिरी पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार उनलाई पक्राउ गरेको हो।
नेपाली पुरानो फिल्म 'सम्झना'का निर्माता शम्भु प्रधानको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। सम्झना फिल्मको ‘उकालीमा अघिअघि ओरालीमा पछि पछि...' बोलको गीत चोरेको आरोपमा प्रधानले गत महिना उजुरी गरेका थिए।
पटक-पटक छलफल गर्दा पनि ‘कृ’ले उक्त गीत हटाउन नमानेपछि मुद्दा प्रक्रिया अघि बढेको हो। परिसरका डिएसपी मोहन थापाले निर्माताविरुद्ध प्रतिलिपि अधिकार संरक्षण ऐनअनुसार मुद्दा अघि बढेको बताए।
प्रधानले भुवन केसीविरुद्ध समेत जाहेरी दिएका थिए। तर, कानुनी रुपमा केसी निर्माता नभएको खुलेपछि गिरीविरुद्ध मुद्दा चलाउन लागिएको हो।
प्रतिलिपि अधिकार ऐनअनुसार दोषी ठहर भए ६ महिनासम्म कैद सजाय हुनसक्छ। त्यस्तै, मागअनुसार क्षतिपूर्ति र जरिवाना समेत हुनसक्छ।
अरुको सिर्जना चोरी गर्ने प्रवृत्ति रोक्न आफूले प्रहरीमा जाहेरी दिएको निर्माता प्रधानले नेपाल लाइभलाई बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।