भैरहवा- माछाको व्यवसायिक प्रवर्द्धन गर्ने मुख्य उद्देश्यले रुपन्देहीमा 'मत्स्य कृषि तथा माघी महोत्सव २०७६' हुने भएको छ।
नेपाल मत्स्य व्यवसायी संघ रुपन्देही, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देही, सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैंडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा पुस २६ देखि माघ १ गतेसम्म महोत्सव हुन लागेको हो। रुपन्देही माछाका लागि उर्वर ठाउँ रहेको, यहाँका १६ गाउँपालिकामध्ये चारवटा गाउँपालिकामा माछा सुपरजोन कार्यक्रम लागू भएकाले यसको बजारविस्तार गर्न र कृषि क्षेत्रकै विकासमा योगदान पुर्याउन महोत्सव गर्न लागिएको नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसालले बताए ।
मत्स्य महोत्सव राष्ट्रियस्तरमै पहिलो पटक हुन लागेको उनले दाबी गरे। 'अहिले पनि माछाले उचित बजार पाउन नसकेको अवस्था छ, महोत्सवमार्फत् हामीले माछाको बजार विस्तारका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।' उनले भने।
महोत्सवबारे जानकारी दिन सियारी गाउँपालिकामा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष भुसालले महोत्सवमा मत्स्य तथा कृषिका कम्तीमा पनि ३६ वटा स्टल रहने जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका सञ्चालक समिति संयोजक गणेश शाहीका अनुसार महोत्सवमा माछामा आधारित स्टलहरु रहने र सर्वसाधारणका लागि प्रवेश निःशुल्क रहनेछ। रुपन्देहीको उत्पादनले माछामा मुलुकलाई नै आत्मनिर्भर बनाउन सकिने र भारतमा समेत माछा निर्यात गर्न सकिने सम्भावना रहेकाले किसानलाई यसतर्फ प्रोत्साहन गर्नका लागि माछा महोत्सव आयोजना गरिएको उनले बताए।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपरजोन रुपन्देहीका प्रमुख मकबुल अलिले माछा महोत्सवले किसानलाई उत्साह जगाउने र नीति निर्मातालाई पनि राम्रो सन्देश दिने भन्दै उत्पादन वृद्धि गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताए।कार्यक्रममा प्रदेशसभा सदस्य तुल्सी प्रसाद चौधरीले माछाको सुपरजोन भविष्यमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले गुणस्तर वृद्धि गर्न र उत्पादन बढाउनतर्फ किसानहरुलाई प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए।
सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले माछा महोत्सव नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन सार्थक हुने भन्दै लुम्बिनी आएका बाह्य पर्यटकले सियारीमा हुने माछा महोत्सवको अवलोकन गरेर माछाका परिकारको स्वाद लिनुका साथै विभिन्न जातजातिका संस्कृतिको अवलोकन गर्न सक्ने बताए।
'विभिन्न ठाउँमा आयोजना गरिने मेला महोत्सवहरु पैसा कमाउनकै लागि स्टलसँग शुल्क लिएर व्यापारिक दृष्टिले गरिएको छ, तर हामीले माछा महोत्सव कृषिको प्रवर्वर्द्धन गर्ने मुख्य उद्देश्यले आयोजना गरेका छौं,' उनले भने, 'यहाँ सहभागी स्टलसँग सरसफाइका लागि कम्तीमा ५ सयदेखि बढीमा २ हजार रुपैयाँसम्म मात्रै शुल्क तोकेका छौं।'
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरीले जिल्लामा सञ्चालित माछा सुपरजोन क्षेत्रभित्र माछाका परिकार पाइने ठूल्ठूला रिसोर्ट रहेकाले लुम्बिनी आउने पर्यटकलाई माछा महोत्सवमा पनि ल्याउन सकिने बताए। रुपन्देहीका मत्स्य विकास अधिकृत रमेश जैसवालले महोत्सवमा माछाका अतिरिक्त कृषि उपकरणहरुलाई समेत प्राथमिकता दिइएको बताए। उनका अनुसार चारवटा गाउँपालिकामा सञ्चालित माछा सुपरजोनमा वार्षिक एक अर्ब रुपैयाँ बराबरको माछा उत्पादन हुने गरेको छ।
जिल्लामा रहेका ५० वटा जिउँदो माछा पसलमध्ये सुपरजोनमा मात्रै १६ वटा रहेका छन्। जिल्लामा कूल ११ सय ७५ हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुने गरेको छ भने ५ हजार ८ सय ६० मेट्रिकटन वार्षिक माछा उत्पादन हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।