काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ। मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो।
रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखका रूपमा कर्मचारी खटाइएको मन्त्रालयका कर्मचारी प्रशासन शाखाका अधिकृत रवीन्द्रजङ्ग थापाले जानकारी गराए। यसअघि ती गाउँपालिकामा निमित्तले प्रमुख प्रशासकीय अधिकृतको काम सम्हाल्दै आएका थिए।
गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।
खटाइएका प्रमुख प्रशासकीय अधिकृत जाजरकोट, भोजपुर ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुपाञ्चोक, बझाङ, डोटी, अछाम लगायतका रहेका छन्। थापाका अनुसार खटाइएका कर्मचारी मन्त्रालयबाट पत्र लिई भोलिदेखि नै सम्बन्धित स्थानीय तहमा जानेछन्।
शाखा अधिकृत थापाका अनुसार अझै ४० गाउँपालिकामा निमित्तले प्रशासकीय प्रमुखको काम चलाइरहेका छन्।
मुलुकभर २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। अपुग स्थानमा थप कर्मचारीलाई विस्तारै पठाइनेछ। मन्त्रालयले कर्मचारी समायोजन नहुँदासम्मका लागि आन्तरिक व्यवस्थापनका लागि कर्मचारी स्थानीय तहमा खटाएको हो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।