काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्थायी राजनीतिक युगमा प्रवेश गरेकाले सोही अनुरुपको व्यवहार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्।
विदेशी कूटनीतिक नियोगका प्रमुख र विभिन्न देशका राजदूतलाई देशको समसामयिक अवस्थाबारे बालुवाटारमा 'बिफ्रिङ' गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्।
जनताका प्रतिनिधिले लेखेको संविधान अनुसार जनताकै मतबाट चुनिएका प्रतिनिधिको सरकार गठन भएको भन्दै प्रधानमन्त्री ओलीले अन्य देशबाट पनि सोही अनुरुपको व्यवहार र सहयोगका लागि आग्रह गरेका हुन्।
प्रधानमन्त्रीले कूटनीतिक नियोगका प्रतिनिधिहरुलाई मुख्यगरी राजनीतिक घटनाक्रमको विकास, आफ्नो सरकारको प्राथमिकता र विदेश नीतिका विषयमा ब्रिफिङ गरेका थिए।
स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसदमा ४१ प्रतिशत महिला प्रतिनिधित्व गराएको पनि बताए।
नेपालमा नयाँ स्वरुपको संघीय सरकार सञ्चालनमा रहेको र वाम गठवन्धनको सरकार स्थायी र जनताको पक्षमा भएकाले विदेशी निकायहरुले शंका गर्नु नपर्ने ओलीले बताए। कम्युनिस्ट सरकार भनी गरिएको प्रचार सम्बन्धमा प्रधानमन्त्री ओलीले आफूले विगतमा गरेका कामहरुको आधारमा मूल्यांकन गर्न समेत आग्रह गरे।
आफ्नो कार्यकालमा सबै देशसँग असंलग्न परराष्ट्र नीति मार्फत काम गर्ने ओलीले स्पष्ट पारे।
द्वन्द्वकालीन मुद्दामा कसैले आममाफी पाउँदैन : प्रधानमन्त्री
बिफ्रिङका क्रममा द्वन्द्वकालीन मुद्दाको सम्बोधनमा भइरहेको ढिलाइप्रति अमेरिका, अस्ट्रेलिया लगायत देशका राजदूतले प्रधानमन्त्रीसामु चासो राखेका थिए।
सो को जवाफमा ओलीले आफू पीडितलाई न्याय दिने पक्षमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लंघनका घटनामा आममाफी नदिइने भन्दै उनीहरुलाई आश्वस्त पार्ने प्रयास गरेका थिए। सत्य निरुपण र मेलमिलाप आयोग सक्रिय रहेको भन्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेश र अन्तर्राष्ट्रिय कानुन अनुसार नै पीडकहरुलाई कारबाही हुने बताए।
‘मानव अधिकार र मानवीय कानुनको गम्भीर उल्लंघनमा आममाफी हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘ऐन संशोधनका लागि कामा भइरहेको छ। एक वर्षपछि यसलाई समाधान गरिनेछ।’
संक्रमणकालीन न्यायलाई बाह्य र आन्तरिक दबाव तथा हस्तक्षेपबाट मुक्त गराउने उनले बताए।
यस्तै, ब्रिफिङमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरे। उनले नेपाल संघीयता र संविधान कार्यान्वयनको चरणमा रहेकाले उक्त कार्यमा सबै देशको सहयोग आवश्यक रहेको बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ब्रिफिङमा नेपालस्थित विदेशी आवासीय राजदूतहरु, कूटनीतिक नियोगका प्रमुखहरु सहभागी छन्। अर्थमन्त्री डा युवराज खतिवडा, रक्षामन्त्री ईश्वर पोखरेल पनि बैठकमा सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।