काठमाडौं– सवारी व्यवस्थापनमा महत्वपूर्ण मानिएको ट्राफिक लाइट बिग्रियो भने बनाउन कति समय लाग्ला? अनुमान गर्दै गर्नुस्।
तर देशको केन्द्रीय राजधानी काठमाडौंका सडकमा बिग्रिएका ट्राफिक लाइट मर्मत गर्न भने एक दशक लागेको छ। सम्बन्धित निकायले चासो नदिएपछि ट्राफिक प्रहरीले आफ्नै सक्रियतामा मर्मत गरिएका लाइट ७ वटा चोकमा मंगलबारदेखि सञ्चालनमा आउनेछन्।
नयाँ बानेश्वर चोक, नारायणगोपाल चोक लगायत ७ ठाउँमा ट्राफिक लाइट मर्मत गरिएको हो। बानेश्वर चोकमा मंगलबार दिउँसो महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले मर्मत गरिएका ट्राफिक लाइटको उद्घाटन गर्दैछन्।
बानेश्वरसहित पद्मोदय मोड, पुतलीसडकको कुमारी बैंक अगाडिको चोक, सुन्धाराको काठमाडौं महानगरपालिका अगाडि, सोल्टीमोड र नारायणगोपाल चोकमा ट्राफिक लाइट बल्नेछन्। ती चोकमा ट्राफिक लाइट बलेपछि यातायात व्यवस्थापन केही सहज हुने ट्राफिक प्रहरीको अपेक्षा छ।
१० वर्षअघि ती ट्राफिक लाइट बिग्रिएका थिए। मर्मतको जिम्मेवारी सडक विभागको भए पनि बजेटको कारण देखाउँदै मर्मतमा चासो दिएको थिएन। ट्राफिक लाइट मर्मतका लागि एसियाली विकास बैंक (एडिबी) लगायत दातृ निकायले चासो दिए पनि त्यो योजनामै सीमित भएको थियो।
ट्राफिक महाशाखामा डिआइजी खनाल आफैंले नेतृत्व लिएर सडक विभाग, सडक बोर्ड र काठमाडौं महानगरपालिकाको बजेटमा नेपाली प्रविधिको ट्राफिक लाइट जडान गरिएको हो। राजधानीमा थप १० स्थानमा पनि ट्राफिक लाइट मर्मतको तयारी भइरहेको छ।
राजधानीमा सवारी साधनको संख्या बढ्दै गर्दा बत्ती लगायत ‘सडक फर्निचर’को अवस्था भने दयनीय छ। यसका कारण पैदलयात्रुलाई सडक काट्न समेत समस्या छ भने सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीले झन्झट बेहोर्नुपरेको छ।
उपत्यकामा तीनकुने–सूर्यविनायक सडकखण्डमा मात्र ट्राफिक बत्ती चालू अवस्थामा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।