काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वेच्छिक अवकाश नदिने भनिरहेका बेला मन्त्रालयले भने स्वेच्छिक अवकाशको कामलाई अगाडि बढाएको छ।
मन्त्रालयले स्वेच्छिक अवकाश दिने कर्मचारीको नामावलीको अन्तिम रुप तयार गरेको छ। माथिबाट स्वेच्छिक अवकाशको काम रोक्नू भन्ने आदेश नआएकाले अवकाशको कामकारबाही भइरहेको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मराज रोकायले बताए। उनका अनुसार अहिले सबै जिल्लाबाट अवकाशका लागि निवेदन दिने कर्मचारीको नामावली विवरण तयार गरिएको छ। हालसम्म नौ हजार ६ सय ५६ जनाले अवकाशका लागि निवेदन दिएका छन्। यो संख्या काठमाडौंमा रहेका कार्यालय र विभाग समेतको हो।
सबैभन्दा बढी काठमाडौंबाट अवकाशका लागि निवेदन दर्ता भएको उपसचिव रोकायले बताए। काठमाडौंबाट एक हजार ३ सय १५, कास्कीबाट ३ सय २८ र मोरङबाट ३ सय १७ जनाले अवकाशका लागि निवेदन दिएका छन्।
सबैभन्दा कम पूर्वी रुकुम जिल्लाबाट दुई जनाले मात्र अवकाशका लागि निवेदन दिएका छन्। पूर्वी रुकुम जिल्लाबाट सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णबहादुर पुन र सहायक जिल्ला वन अधिकृत झंकरबहादुर मगरले निवेदन दिएका छन्।
यसैगरी मन्त्रालयबाट ३ सय ९४ र संवैधानिक निकायबाट १ सय ७२ जनाले अवकाशका लागि निवेदन दिएका छन्। एकाइ प्रमुख रोकायले सरकारले आदेश दिएमा दुई महिनाभित्र निवेदन दिएका कर्मचारीमाथि छानबिन गरी अवकाश दिन सकिने बताए।
सरकारले निजामती र स्वास्थ्य सेवाका संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशको व्यवस्था ल्याएको थियो। मन्त्रालयले ५० वर्ष उमेर पुगेका र २० वर्षे सेवावधि पूरा गरी निवृत्तिभरण पाउने अवस्थामा रहेका कर्मचारीले अवकाश लिन पाउने व्यवस्था गरेको थियो। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।