काठमाडौं– विशेष अदालतले काठमाडौंको न्युरोड टेबहालस्थित ‘बालाजी एन्ड सन्स सुनचाँदी पसल’का सञ्चालक बालु जगन्नाथ धाङ्गेलाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरी फैसला सुनाएको छ। विशेषले धाङ्गेलाई ६ करोड ५७ लाख बिगो र जरिवाना तथा २ वर्ष कैद सजाय हुने फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीश प्रमोदकुमार वैद्यको इजलासले धाङ्गेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा यस्तो फैसला सुनाएको हो।
सुन तस्करी मार्फत अवैध रकम आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७३ साउन १७ गते उनी विरुद्ध मुद्दा दायर गरेको थियो। विभागले सुन व्यवसायी धाङ्गेसँग ३ करोड २२ लाख बराबरको अवैध सम्पत्ति रहेको दाबी गरेको थियो। तर, विशेषले १ करोड २ लाख ९६ हजार सम्पत्तिको स्रोत खुलेको भन्दै २ करोड १९ लाख ३ हजार ७ सय बिगो र ३ करोड २२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा सुन व्यापारीलाई पहिलो पटक दोषी ठहर गरेको हो। नेपालमा सुन तस्करी नयाँ विषय नभए पनि यसअघि व्यापारी दोषी ठहर भएका थिएनन्।
व्यापारी धाङ्गेले न्युरोडमा सुनचाँदी पसल राखेर तिब्बतबाट काँचो सुन आयात गर्दै भारततर्फ निकासी गरी करोडौं रुपैयाँ तस्करीबाट कमाएको आरोप विभागले लगाएको थियो। प्रहरीको विशेष टोलीले उनलाई २१ माघ २०७१ मा पक्राउ गरेको थियो। सो समयमा खानतलासी गर्दा उनीसँग ३ करोड २२ लाख नेपाली रुपैयाँ, सुनचाँदी, एक हजार र ५ सय दरका भारतीय मुद्रा पनि फेला परेको थियो।
धाङ्गेले अवैध सुनचाँदीको कारोबार गरेको सूचना पाएपछि अनुसन्धान अघि बढाएको प्रहरीले सुन व्यापारीहरु वर्षौंदेखि सुनको अवैध कारोबारमा संलग्न रहेको पत्ता लगाएको थियो। अवैध सुनको कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले त्यस समयमा ४ जना व्यवसायीलाई पक्राउ परेको थियो। न्युरोडस्थित बालाजी एन्ड सन्स पसल, युनाइटेड गोल्ड मार्ट, बौद्धको मामन स्टोर्स र संगम ज्वेलर्समा अवैध सुन फेला परेपछि तिनका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो।
ती पसलबाट प्रहरीले ५ किलो २ सय ३५ ग्राम सुन, ५६ किलो १ सय ७१ ग्राम काँचो चाँदी बरामद गरेको थियो। यसैगरी ४ करोड ७४ लाख रुपैयाँ समेत बरामद गरिएको थियो। यो सँगै १ लाख ९९ हजार भारतीय रुपैयाँ र ४ हजार ६ सय चिनियाँ युआन पनि बरामद भएको थियो।
त्यतिबेला पक्राउ पर्नेमा भारत महाराष्ट्र घर भई न्युरोड टेबहालमा सुनचाँदी पसल चलाइरहेका ४८ वर्षीय बालु धाङ्गे, पोखरा घर भई न्युरोडमा ‘द युनाइटेड गोल्ड मार्ट’ चलाइरहेका सञ्चालक आकाशकुमार बज्राचार्य, भारत दार्जिलिङ घर भई बौद्धमा ‘मामन स्टोर्स’ सञ्चालन गर्दै आएका नरेश अग्रवाल र भक्तपुर दधिकोटका ‘संगम ज्वेलर्स’का सञ्चालक रमेश खड्का थिए। त्यस्तै, मोरङ घर भई काठमाडौं बस्दै आएका शिवराज श्रेष्ठ पनि पक्राउ परेका थिए।
केही व्यापारी विरुद्ध शुद्धीकरण मुद्दा दायर भए पनि केहीको हकमा विभागले थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।