काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले विभिन्न निर्णय गरेको छ। संघीय संसदलाई राष्ट्रपतिले गर्ने सम्बोधनको मितिसँगै प्रधानमन्त्रीका सल्लाहकारहरु नियुक्त गरेको छ।
बालुवाटारमा बसेको बैठकले आगामी चैत १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्ने भएकी छन्। दिउँसो ४ बजे उनले सम्बोधन गर्नेछिन्।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भएका छन्। राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी उनलाई सल्लाहकार नियुक्त गरिएको हो। यस्तै, प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको छ।
आजकै बैठकले जिल्ला समन्वय समितिका संयोजकलाई पनि कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेगरी निर्णय गरेको छ। बैठकले कूटनीतिक राहदानी प्रयोग गर्न पाउनेहरुको सूचीमा संशोधन गरेको हो। प्रदेशमन्त्री, सांसदसँगै जिल्ला समन्वय समितिका संयोजकले कूटनीतिक राहदानी अर्थात् रातो पासपोर्ट पाउनेछन् भने गाउँपालिका अध्यक्षले विशेष राहदानी पाउने सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले निर्वचनका बेला विभिन्न घटनामा घाइते भएकाहरुको उपचार खर्च सरकारले बेहोर्ने पनि निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।