२०२० चैत २३ भुटानी प्रधानमन्त्री जिग्मी पाल्दिन दोर्जीको हत्या हुँदा भुटानका तेस्रो राजा जिग्मे दोर्जी वान्चुक स्विट्जरल्यान्डमा उपचार गराइरहेका थिए।
धन्न त्यतिबेला जिग्मीका भाई लेन्दोप दोर्जी भारतको कोलकाताबाट केही दिनअघि मात्र भुटान छिरेका थिए। राजा जिग्मे स्विट्जरल्यान्डबाट घर फर्किनुअघि भुटानमा अन्योलको वातावरण देखियो। यस अवस्थामा भुटानी राजपरिवारले लेन्दोपलाई प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न आग्रह गर्यो। लेन्दोपले राजा जिग्मे घर फर्किने बेलासम्म मात्र होइन, २०२१ साउन १० देखि मंसिर १२ सम्म भुटानको अन्तरिम प्रधानमन्त्रीको काम सम्हाले।
प्रधानमन्त्रीको पदमा रहँदा उनको भारतीय शासकसँग कुरा मिलेन। त्यसपछि उनले भुटान छाड्नु पर्यो। पहिले उनी बेलायत लागे। लगत्तै नेपालमा शरणार्थीको रुपमा निर्वासनमा बसे।
लेन्दोप दोर्जी काठमाडौंमा लेनी दोर्जीको नामले परिचित थिए। २०३० सालसम्म काठमाडौंमा केही चर्चित अनुहारमध्ये एक थिए, लेनी। अझ उनको स्पष्ट परिचय थियो, भुटानी राजा (जिग्मे दोर्जी वान्चुक) का साला, १२ वर्षअघि आफ्ना छोरा जिग्मे केसर नामग्याललाई राजगद्दी सुम्पेका जीवित राजा जिग्मे सिग्मे वान्चुकका मामा।
लेनी नेपालमा पहिलो क्यासिनो खोल्ने व्यक्ति हुन्। नेपाल निर्वासनमा रहेका बेला तत्कालीन राजा महेन्द्रले सोल्टी होटलमा क्यासिनो खोल्ने इजाजत दिएका थिए, उनलाई। जनस्तरमा उनी लोकप्रिय र सबैबाट चिनिनुको अर्को कारण थियो, क्रिकेट खेल्ने मोह।
निर्वासनमै रहेका बेला उनले नेपालमा जेन्टलम्यान क्रिकेट क्लब (जेसिसी) स्थापना गरे। त्यतिबेला नेपाली क्रिकेटमा क्यान, त्रिचन्द्र र केकेएमजस्ता बलिया टोली थिए। उनी सधैँजसो राति अबेरसम्म आफ्नो क्यासिनोमा व्यस्त हुन्थे। तर, बिहान क्रिकेट खेल्न टुँडिखेल आइपुग्दा सबै खेलाडी चकित पर्थे। एकदम ‘फ्रेस’, लाग्थ्यो–उनलाई रातको थकानले केही असर गरेकै छैन।
‘उनी प्रायः राती अबेरसम्म क्यासिनोमा व्यस्त हुन्थे। तर, क्रिकेट खेल्न बिहानै टुँडिखेलमा उपस्थित भइसक्थे’, नेपालका पूर्व क्रिकेटर तथा क्युरेटर कोमल पाण्डे भन्छन्।
लेन्दोपको नाम लेनी रहनुमा पनि एउटा कथा जोडिएको छ। २०१६ सालमा अमेरिकाको कर्नेल विश्वविालयबाट स्नातक गरेर घर फर्किदा उनले आफ्नो नयाँ नाम आयात गरेर ल्याएका रहेछन्।
‘अमेरिकीलाई लेन्दोप नाम गाह्रो र लामो भएछ, त्यसैले लेनी राखिदिएछन्। काठमाडौंमा पनि हामी उनलाई लेनी भन्दै बोलाउन थाल्यौं,’ दार्जिलिङको नर्थ प्वाइन्टबाट २०१० सालमै मेट्रिक पास गरेर सँगै निस्केका पूर्व क्रिकेटर शक्ति राणा भन्छन्।

श्रीमती र छाेराछाेरीका साथमा लेनी
लेनी अमेरिकामा अध्ययन गर्ने पहिलो भुटानी नागरिक पनि हुन्। उनले अमेरिकामै अध्ययनरत रहदा गोल्डेन ग्लोब्समा बक्सिङसमेत खेलेका थिए।
शक्ति नर्थ प्वाइन्ट क्रिकेट टोलीको क्रिकेट कप्तान हुँदा लेनी पनि उनकै टोलीमा थिए। त्यसैले यी दुवैको खुब राम्रो दोस्ती थियो। अझ शक्तिको मित्रता लेनीसँग मात्र होइन, उनको परिवारका अन्य सदस्यसँग पनि उस्तै थियो। २०१३ सालमा राजा महेन्द्रको राज्याभिषेक हुँदा भुटानले पहिलो पल्ट आफ्नो आधिकारिक प्रतिनिधि नेपाल पठाएको थियो, जसमा लेनीका दाजु जिग्मी पाल्दिन दोर्जी, जसको प्रधानमन्त्री हुँदा हत्या भयो, उनी नेपाल आएका थिए।
यिनी केही दिन शक्तिको पाहुना भएर बसेका थिए। ‘त्यतिबेला पहिलो पल्ट भुटानी झन्डा नेपालमा फहराइएको थियो,’ शक्ति सम्झन्छन्।
राजनीतिक कारणले लेनीसँग त्यतिबेला भुटान छोड्नेमा अन्य तीन जना थिए। उनकी बहिनी टासी पनि केही वर्ष नेपालमै बसिन्। उनलाई महाराजगञ्जको सल्लाघारीमा बस्दा सुरक्षा दिएको थियो, तत्कालिन सरकारले। लेनीको राजा महेन्द्रका कान्छा भाइ बसुन्धरासँग राम्रो दोस्ती थियो। लेनीले काठमाडौं निर्वासनको बेला क्रिकेट मात्र खेलेनन, बक्सिङ र गल्फमा पनि हात हाले।
नेपालमा एउटा मात्र रहेको लिङ्कन कन्टिनेन्टल नामको गाडी हुइँक्याउँदै क्रिकेट खेल्न लेनी टुँडिखेल पुग्दा, उनलाई नहेर्ने कोही हुन्थेन। अझ उनको गाडीपछाडि बियरको बोतल पनि हुन्थ्यो।
‘उसको त्यो गाडी मलाई खुब मन पथ्र्यो। भारतमै ४–५ वटा मात्र छ भन्थे, त्यतिबेला। पछि कोलकातामा बेचेछ। म कामको सिलसिलामा ८ वर्ष कोलकाता बस्दा उसको त्यो गाडी कोलकातामा बिहे हुने प्रायः सबै मारवाडीको जन्ते गाडीमा रुपान्तरण भएको देखेँ,’ शक्ति भन्छन्।
नर्थ प्वाइन्ट पढ्दा लेनीको सोख फुटबलमा थियो। उनी फुटबल राम्रो खेल्थे। तर, नेपालमा फुटबलभन्दा पनि क्रिकेटमै बढी रमाए, उनी। शक्ति राणा, मधुकर राणा, राजु राणा, कञ्चन राणा, सुवर्ण क्षेत्री, सागर राणा, मोहन शाह, कृष्णविक्रम शाह र परशुरामजस्ता खेलाडीका कारण जेन्टलम्यान क्रिकेट क्लब निकै बलियो मानिन्थ्यो, ३० सालताका। यो क्लबले त्यतिबेला नेपाली क्रिकेटमा प्रतिष्ठित मानिएको विष्णु ट्रफी (लिग) र मदन मेमोरियल सिल्ड (नकआउट) थुप्रै पल्ट जित्यो पनि।
२०३० सालपछि लेनी पुनः भुटान फर्किए। त्यसपछि उनी एकपल्ट मात्र नेपाल आए, साथीभाई भेट्न। पछि उनको घाँटीमा क्यान्सर देखियो। ‘मैले उनलाई १४ वर्षअघि अन्तिम पल्ट कोलकातामा भेटेको थिएँ। घाँटीको अपरेशन भइसकेको रहेछ। घाँटीमा पाइप हालेर बोल्थ्यो,’ शक्ति सम्झन्छन्।
त्यसको ३ वर्षपछि २०६४ सालमा घाँटीको क्यान्सरकै कारण लेनीको निधन भयो, ७२ वर्षको उमेरमा। उनी भुटान फर्किएपछि नेपालमा उनले स्थापना गरेको क्रिकेट क्लबको अस्तित्व पनि केही वर्षभित्रै समाप्त भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।