काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले काभ्रेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पालाञ्चोक भगवती मन्दिरको दर्शन गरेका छन्।
आफ्ना राजनीतिक सल्लाहकार कुमार बेन र पूर्वाधार विकासमन्त्री सुनील लम्सालसँगै प्रधानमन्त्री शाहले बुधबार बिहान पालाञ्चोक भगवती पुगेका हुन्।
पालाञ्चोक भगवतीको नित्य पूजाको समयमा मन्दिर पुगेका प्रधानमन्त्री शाहले भगवतीको दर्शन गरी फर्किएको पाँचखाल ९ का वडा अध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिए ।प्रधानमन्त्री शाहको पालाञ्चोक भ्रमणबारे जिल्लास्थित सुरक्षा निकायलाई समेत पूर्वजानकारी गराइएको थिएन। स्रोतका अनुसार प्रधानमन्त्री शाह सुरक्षा निकायलाई जानकारी नगराईकन आफ्ना सुरक्षाकर्मी समेत सिभिलमा थिए ।
नवरात्र सुरु भएसँगै पालाञ्चोक भगवती मन्दिरमा धार्मिक गतिविधि बढ्ने गरेको छ। पालाञ्चोक भगवतीलाई नेपालका प्रसिद्ध शक्तिपीठमध्ये एक मानिन्छ। विशेषगरी नवरात्रका अवसरमा यहाँ भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ।
पालाञ्चोक भगवती मन्दिरमा प्रत्येक वर्ष नवरात्रको अष्टमीका दिन राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहँदै आएको छ। धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको यस मन्दिरमा प्रधानमन्त्री शाहले पनि दर्शन गरेका हुन्। प्रधानमन्त्री शाहको पालाञ्चोक भगवती भ्रमणबारे थप आधिकारिक विवरण भने सार्वजनिक भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।