उच्च कोलेस्टेरोल: उच्च कोलेस्टेरोल भएका व्यक्तिले कोलेस्टेरोल नियन्त्रणका लागि डाक्टरको सल्लाह बमोजिम आहार र औषधि खानुपर्छ र कोलेस्टेरोललाई नियन्त्रणमा ल्याउनुपर्छ। तल उल्लेखित 'ड्यास' भोजन कोलेस्टेरोल नियन्त्रणको उद्देश्यले नबनाइएको भए पनि उक्त भोजनशैलीले कोलेस्टेरोललाई नियन्त्रण गर्न सकिन्छ।
धूमपान र मध्यपान: धूमपान र मध्यपानले रक्तचाप बढाउनुका साथै अन्य रोगहरु (क्यान्सर, मुटुरोग, कलेजोको रोग आदि) लाई प्रोत्साहन गर्छ। तसर्थ स्वास्थ्य व्यक्तिका साथसाथै उच्च रक्तचापको जोखिममा रहेका व्यक्तिले धूमपान र मध्यपान सेवनमा नियन्त्रण ल्याउनु जरुरि छ।
चिनिरोगीः चिनीरोगीहरु धेरैलाई उच्च रक्तचाप देखापर्छ। चिनिरोगीहरुले आफ्नो रक्तचाप समय-समयमा जाँच गराउने तथा डाइटिसियनको सल्लाहमा आफ्नो तौल, उचाईलाई मध्यनजर गरेर सन्तुलित आहार खानुपर्छ।
मोटोपनाः मोटोपनाले रक्तचाप बढाउने भएकाले तौल नियन्त्रणमा राख्नुपर्छ। तौलसँगसँगै कम्मरको चौडाइमा कति परिवर्तन आएको छ भनेर पनि विचार गर्नुपर्छ। महिलाको कम्मरको चौडाइ ३५ इन्चभन्दा धेरै र पुरुषको कम्मरको चौडाइ ४० इन्च भन्दा धेरै भएमा उच्च रक्तचापका साथै धेरै रोग लाग्ने सम्भावना बढ्ने अध्ययनहरुले पुष्टि गरेका छन्। यसरी कम्मरको चौडाइ नाप्दा नाइँटोको वरिपरि नाप्नुपर्छ।
शारीरिक निस्क्रियताः हरेक स्वस्थ व्यक्तिले दिनको ३० मिनेट व्यायाम गर्ने अथवा हिँडडुल गर्नुपर्छ। उच्च रक्तचाप र कोलेस्टेरोल घटाउन भने दिनको ४० मिनट जति व्यायाम अथवा हिँडडुल उपयुक्त हुन्छ। यसरी व्यायाम गर्दा अथवा हिँड्दा कम्तिमा पनि लगातार १० देखि १५ मिनेट रोकिनु हुँदैन। मुटुको चाल बढ्ने गरि र पसिना आउने गरी व्यायाम गर्नुपर्छ। यसका अलावा धेरै मानशिक तनाव लिने र अस्वस्थ्यकर खानपान अपनाउने मानिसहरु उच्च रक्तचापको जोखिममा हुन्छन्।
अरु ठूला रोगभन्दा सामान्य लागे पनि उच्च रक्तचापले कस्तो परिणाम दिन सक्छ भन्ने अनुमान गर्न सकिँदैन। केही निश्चित लक्षणहरु नदेखाउने भएकाले यसलाई एक सुशुप्त ज्यानमारा (साइलेन्ट किलर) का रुपमा लिइन्छ। जसका कारण धेरैलाई उच्च रक्तचाप भएको थाहा पनि हुँदैन। यस्ता व्यक्तिहरु सधैँ मुटु रोग, मस्तिष्कघात, मिर्गौला रोग र अन्धोपनाको जोखिममा पर्न जान्छन्। यसैगरी उच रक्तचापले थकान बढाउने, यौन क्षमतामा कमी ल्याउनुका साथै हात, खुट्टा, टाउको दुखाइ बढाउने गर्छ। त्यसैले स्वास्थ्य जीवनशैली अपनाएर रक्तचापलाई नियन्त्रणमा ल्याउनु जरुरी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।