सुरुङ्गा- फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली फिर्ता गर्दै रु ३५ लाख जरिवाना तिर्नुपरेको छ। बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा दुई दिनसम्म भएको बहसपछि रेग्मीले बेहुलीका लागि भरणपोषण र पढाइ खर्चबापत सो रकम दिने सहमति भएको गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेलले जानकारी दिइन्।
राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए। विवाहको भोलिपल्ट बेहुला र बेहुलीका आमाबुबाबीच सम्धी ढोकभेट कार्यक्रम पनि भएको थियो।
सम्धि ढोकभेट सकिएपछि राकेश बेहुली छाडेर बेपत्ता भएका थिए। बेपत्ता भएका राकेश भारत गएर बसेको र केही दिनपछि आफन्तको सहयोगमा उनलाई झापा ल्याइएको थियो। झापा ल्याएलगत्तै उनी अहिले धुलाबारी इलाका प्रहरी कार्यालयको हिरासतमा छन्।
हिरासतमा रहेका राकेशमा शारीरिक समस्या रहेकाले बेहुली छाडेर भागेको बताउँदै उनका बुबा लालप्रसादले बताएका छन्। बुद्धशान्ति गाउँपालिकाको न्यायिक इजलासमा उनले भने, 'छोरामा शारीरिक समस्या रहेछ हामीलाई थाहा भएन, बेहुलीको भविष्य नबिग्रियोस् म उनको भरणपोषण र पढाइ खर्चका लागि रु ३५ लाख दिन्छु।' सँगै बाच्ने सँगै मर्ने वाचा गरेर लगनगाँठो कसेका रेग्मीले किशोरीको अस्मितामाथि गम्भीर खेलबाड गर्दै महिला हिंसा गरेको भन्दै छलफलमा सहभागी अधिकारकर्मीले रेग्मी परिवारको आलोचना गरेका थिए।
आइतबार र सोमबार भएको बहसमा बेहुलीको भरणपोषण तथा शिक्षाका लागि उक्त रकम बेहुला पक्षले दिने लिखित सहमति भए पनि जग्गेमा सातफेरी घुमेर लगनगाँठो कसेको सम्बन्धलाई कसरी टुंग्याउने भन्ने निष्कर्षमा भने पुग्न बाँकी रहेको गाउँपालिका उपाध्यक्ष भुर्तेलले बताइन्।
त्यसको लागि पुनः आज दुई पक्षबीच छलफल हुने बताइएको छ। स्रोतका अनुसार बेहुलीले सिन्दूर पोते फिर्ता गरेर लगनगाँठोले कसेको सम्बन्ध तोड्ने तयारी भएको छ।
यता विवाहमा लागेको खर्च बेहुला र बेहुली दुवै पक्षले आ–आफ्नै व्यहोर्ने, बेहुली पक्षले बेहुला पक्षलाई दिएको सबै उपहार फिर्ता गर्ने र बेहुलाले बेहुलीलाई दिएको उपहार पनि फिर्ता गर्ने निर्णय भएको छ।
केटीको भरणपोषणका लागि दिने भनेको रु ३५ लाख ३५ दिनभित्र दिने सहमति भएको छ।
गत फागुन २० गते विवाह गरेका राकेश विवाहलगत्तै २१ गते बेहुली छाडेर बेपत्ता भएका थिए।
आफूमा यौन समस्या भएको भन्दै उनी फरार भएका थिए।
राकेश तीन वर्षदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा वैदेशिक रोजगारीमा रहेको र विवाह गर्नु १० दिनअघि मात्रै घर आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।