काठमाडौं- नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनलाई चिनियाँ समकक्षी वाङ क्विसानले बधाई दिएका छन्। नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले सोमबार पद तथा गोपनियताको सपथ लिएपछि उपराष्ट्रपति पुनलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन्।
चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपति पुनलाई भेट्न नेपालका लागि चीनका राजदूत यु होङ आज अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेकी थिईन्।
भेटमा उपराष्ट्रपति पुनले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिएकोमा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिएका थिए। उनले चीनका नवनिर्वाचित उपराष्ट्रपतिलाई आफूले यसअघि नै बधाई दिएको स्मरणसमेत गरेका थिए।
भेटमा उपराष्ट्रपति पुनले नेपाल चीन सम्बन्ध दिन–प्रतिदिन प्रगाढ बन्दै गईरहेको उल्लेख गर्दै चीनले अगाडि सारेको नयाँ अवधारणा ‘बेल्ट एण्ड रोड एनिसियटिभ’ (वीआरआई)को प्रशंसा गरेका थिए।
उनले वीआरआईबाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपाल बढी लाभान्वित हुने विश्वास व्यक्त गरेका थिए। उपराष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति दृढ् रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले पुर्याईरहेको सहयोगको प्रसंशा गरेका थिए।
उनले चीनका राष्ट्रपति सि जिन पिङलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको बताउँदै उनको छिट्टै भ्रमण हुने विश्वास व्यक्त गरेका थिए।
उपराष्ट्रपतिसँगको भेटमा चीनका राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताएकी थिइन्।
उनले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेकोमा चीन अत्यन्त खुशी रहेको उल्लेख गर्दै नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्रमोर्चामा रहेर सहयोग गर्ने धारणा राखेकी उपराष्ट्रपति पुनको नीजि सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।