काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले आज काठमाडौंमा रहेका कारागारहरुको अनुगमन गरी त्यहाँको अवस्थाबारे जानकारी लिएका छन्।
सुन्धारास्थित केन्द्रीय कारागार, डिल्लीबजार कारागार लगायतको अनुगमनमा रहेका मन्त्री थापाले कैदीबन्दीको अवस्थका साथै भौतिक संरचनाबारे चासो राखे। सो क्रममा कारागार प्रशासनले गृहमन्त्रीसामु बुँदागत रुपमा समस्या र आफ्ना कार्यक्रमबारे अवगत गराएको थियो।
केन्द्रीय कारागारमा २ हजार ६५० जना कैदीबन्दीका साथै बालसुधार गृह सानोठिमीमा १५० भन्दा बढी कैदीबन्दी बालबालिका रहेको जानकारी गराइएको थियो। हाल कारागारमा ८ सय भन्दा बढी बिरामी अवस्थामा रहेको पनि गृहमन्त्री थापालाई जानकारी गराइएको छ।
१०४ वर्षअघि निर्माण भएको कारागारमा भूकम्पले क्षति पुर्याउँदा १६ जनाको मृत्यु भएको थियो। सिदाबापत दैनिक प्राप्त ४५ रुपैयाँ निकै कम भएको कैदीबन्दीहरुले गुनासो गर्दै आएका छन्।
कारागार कम्पाउन्डमा भरपर्दो सुरक्षा गेट नभएको, कैदीबन्दीका आफन्तहरुलाई चेकजाँच गर्ने स्थानको अभाव, पर्याप्त सेन्ट्री पोस्टको अभावका साथै रात्रि ड्युटीमा रहने सुरक्षाकर्मीलाई आवासको व्यस्था नहुँदा सुरक्षा चुनौती बढेको समस्याबारे पनि प्रशासनले गृहमन्त्रीलाई अवगत गराइएको जेलर गणेश भट्टराईले बताए।
सिटीसी मल र पेट्रोल पम्पको जोखिम
गृहमन्त्री थापासामु कारागारको सुरक्षा जोखिमबारे पनि जानकारी गराइएको छ। कारागार वरिपरि अग्ला भवनका साथै उत्तरमा नजिकै रहेको सिटिसी मल सुरक्षा चुनौतीका रुपमा रहेको कारागारको भनाइ छ।

नजिकै रहेको पेट्रोल पम्पका कुनै दुर्घटना भए कैदीबन्दीलाई असामान्य प्रभाव पर्नेतर्फ पनि प्रशासनले मन्त्री थापालाई ध्यानाकर्षण गराएको छ।
गृहमन्त्री थापाले नुवाकोटमा नयाँ कारागार निर्माण भइरहेको र ४ वर्षसम्म सम्पन्न हुने जानकारी गराए। 'क्षमताभन्दा कैदीबन्दीलाई नयाँ कारागारमा स्थानान्तरण गरिनेछ,' उनले भने, 'नुवाकोटको योजना पूरा भएपछि धेरै समस्या समाधान हुन्छन्। उनले कैदीबन्दीहरुले आफूहरुको झुटा मुद्दा फिर्ता लिनेबारे आफूसँग गुनासो राखेको पनि बताए। साथै कारागारको सुरक्षा संवेदनशीलताबारे छिट्टै निर्णय लिइने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।