पोखरा– साउदी अरबमा रहेको एक गिरोहले इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ भनेर पोखरा लगायतका सहरमा ठग्दै आएको प्रहरीले जनाएको छ। त्यस्तो ठगीमा संलग्न ९ जनाको समूहलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
धादिङ खनियावास गाउँपालिका ५ का २६ वर्षिय टेक बहादुर तामाङ र २४ वर्षिय जेनिस तामाङ, धादिङकै नेत्रावती गाउँपालिका १ का २८ वर्षिय ठाकुर गुरुङ, मनोज तामाङ र गणेश गुरुङलाई चैत १ गते प्रहरीले पक्राउ गरेको हो।
पक्राउ परेका धादिङका ५ जनासँग सोधपुछ गर्दा उनीहरुले साउदी अरबमा रहेका नरेश राउत भन्ने व्यक्तिले भने बमोजिम पैसा झिकेर विभिन्न ठाउँमा पठाउने गरेको बताएपछि चैत्र २ गते धनुषा प्रहरीको सहयोगमा संगिता मिश्र र उनीसँगै रहेकी कामनी तिवारीलाई समेत पक्राउ गरि अनुसन्धान र सोधपुछ गर्दा त्यो सम्पूर्ण काम गर्न महोत्तरीका योगेन्द्र तिवारीले लगाएको खुलेपछि धनुषा प्रहरीले उनीहरुलाई समेत पक्राउ गरेको हो।
सो समूहका नाइकेहरुको खोजी भइरहेको र समूहले ८० भन्दा धेरै व्यक्तिहरुलाई ठगी गरिसकेको कास्कीका एसपी अशोक सिंहले बताए। चिठ्ठाको रकम भुक्तानी गर्न कर पहिले नै दिनुपर्ने भन्दै झुक्याएर उनीहरुले ठगी गर्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।