काठमाडौं- कानुनमन्त्री शेरबहादुर तमाङ नयाँ सरकारमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री बने। सोमबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कानुनमन्त्री तमाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। उनले पत्रकार सम्मेलनमा आफ्नो ऋण ७० लाख रुपैयाँ रहेको उल्लेख गरे। लगत्तै मन्त्रीले सम्पत्तिको विवरण पत्रकारलाई वितरण गरे। उक्त लिखित विवरणमा भने मन्त्री तमाङको ऋण ७ लाख मात्र देखियो।
कृषि विकास बैंकमा ४ लाख र अन्यमा ३ लाख गरेर उनले आफ्नो ऋण ७ लाख रुपैयाँ भएको लेखेका थिए।
कुन ऋण सही हो त लिखित कि मौखिक? भन्ने प्रश्नमा मन्त्री तामाङले भने, 'टाइप मिस्टेक हुँदा ४० लाख हुनुपर्नेमा ४ लाख र ३० लाख हुनुपर्नेमा ३ लाख भएछ। लेखाइमा गल्ती भयो। मेरो ऋण ७० लाख रुपैयाँ नै हो।'
यस्तै, मन्त्री तामाङले विभन्न कम्पनीका गरी १५ लाख रुपैयाँ बराबरको सेयर रहेको जनाएका छन्। मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्।
मन्त्री तामाङले काठमाडौंको गोकर्णेश्वरीमा साढे ३ आनामा बनेको एक तले घर, ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।