काठमाडौं– वर्षाैंदेखिको सिन्डिकेट तोडेर काठमाडौं-बनेपामा सेवा सुरु गरेको मयुर यातायातका ४ वटा बसमाथि भक्तपुरको जगातीमा तोडफोड भएको छ। बाटोमा लुकेर अज्ञात समूहले बसमा ढुंगाले प्रहार गरेको हो।
४ दिनअघिदेखि मयुर यातायातले नि:शुल्क वाइफाईसहित सुविधासम्पन्न बसहरु काठमाडौं-बनेपा रुटका लागि सञ्चालनमा ल्याएको थियो। चक्रपथ परिक्रमा गरी २३ बसहरु बनेपासम्म पुगेर फर्कने गरेका छन्।
काभ्रेका केही यातायात व्यवसायीहरुले शुक्रबार नै बस सञ्चालनमाथि अवरोध गरेका थिए। आज जगातीमा भएको घटनाका विषयमा प्रहरीलाई जानकारी गराइएको र आक्रमण गर्नेहरुको खोजी भइरहेको मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले बताए। ‘हामीलाई बनेपाका जनताले स्वागत गर्दै माया गरेका छन्,’ श्रेष्ठले भने, ‘केही व्यक्तिहरुले तर्साउन खोजेका छन्।’
नेपालमा सबैभन्दा ठूलो सिन्डिकेट अरनिको राजमार्गमा छ। केही सीमित व्यवसायीहरुले थोत्रा बस चलाएर अरुलाई बस चलाउन रोक्दै आएका छन्। सिन्डिकेटका कारण सो रुट प्रयोग गर्ने यात्रुहरु थोत्रा बस चढ्न बाध्य छन्। वाइफाई लगायतको सुविधासहित नयाँ बसहरु सुरु भएपछि आफ्नो व्यवसाय खस्कने डरले पुराना व्यवसायीहरुले ढुंगा हान्न लगाएको हुन सक्ने प्रहरी आशंका छ।
मयुर यातायातलाई बनेपासम्म रुट पर्मिट नदिन नै दबाब परेको थियो। यातायात क्षेत्रलाई प्रतिस्पर्धी बनाउन आफुहरुले मयुर यातायातलाई रुट पर्मिट दिएको यातायात व्यवस्था कार्यालय एकान्तकुनाका प्रमुख डा टोकराज पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।