बुटवल– प्रदेश नम्बर ५ को प्रदेशसभाले प्रदेशसभा सञ्चालन नियमावली र आर्थिक विधेयक पारित गरेको छ।
बैठकको पहिलो सत्रमा प्रदेशसभा ५ को प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले प्रस्तुत गरेका थिए। मस्यौदामाथि नेपाली कांग्रेसका सांसद अष्टभुजा पाठक, एमालेका सांसद भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका तुलाराम घर्ती र फोरमका सन्तोष पाण्डेले सुझावसहित विचार राखे लगत्तै सभामुख पूर्णबहादुर घर्तीले नियमावली बहुमतले पास भएको घोषणा गरे।
आइतबारै बसेको दोस्रो बैठकले आर्थिक कार्यविधि ऐन पनि पास गरेको छ। आर्थिक विधेयक मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले पेश गरेका थिए। विधेयकमा कांग्रेसका डिल्लीप्रसाद चौधरी र एमालेका विष्णुप्रसाद पन्थीले विचार राखेका थिए।
आर्थिक विधेयक पारित भएसँगै प्रदेश सरकारले आर्थिक कारोबार गर्न र सरकारले दिएको बजेट ल्याउन बैंकमा खाता खोल्न पाउने भएको छ ।
संघीय सरकारले यो आर्थिक वर्षमा प्रदेश ५ का लागि १ अर्ब २ करोड बजेट उपलब्ध गराएको छ । तर, संसद्बाट आर्थिक कार्यविधि पास नभएपछि सरकारले त्यो बजेट व्यवस्थापन र परिचालन गर्न सकेको छैन ।
प्रदेशसभाको अर्काे बैठक चैत ८ गते १ बजे बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।