जब कुनै व्यक्तिको उदास अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ भने त्यो डिप्रेसनको लक्षण हो। यस्ता अनुभव कम्तिमा दुई हप्तासम्म हरेक दिन हुन थाल्यो, जति कोसिस गरे पनि उदास अनुभवले छोडेन, यस्तै अनुभवका कारण बेचैनी बढ्यो, दैनिक गतिविधिमा असर पर्न थाल्यो र अरु लक्षण पनि देखा पर्न थाले भने यसलाई सामान्य उदासीपन ठान्नु गलत हुनेछ। यस्तो अवस्थालाई डिप्रेसन भएको बुझ्न सकिन्छ।
मनोसामाजिक रुपले त्यक्त, विषम परिस्थिति र तनावग्रस्त व्यक्तिमा प्रायः लाक्षणिक रुपमा र पछि रोगकै रुपमा डिप्रेसनको समस्या देखिन्छ। यद्यपि तनावरहित अवस्थाका व्यक्तिलाई पनि डिप्रेसनले सताउन सक्छ। विविध कारणले सेरोटोनिन, नरअड्रिनालिन जस्ता स्नायु रसायनको कमी, तिनले काम गर्ने विशेष अवयव (रिसेप्टर) र तिनको उत्पादन हुने प्रक्रियामा समस्या हुँदा उदासी देखापर्छ। वंशाणुगत र जैविक जोखिमलाई मनोसामाजिक तत्वहरु र परिस्थितिले डिप्रेसनतिर धकेल्न बढावा दिन्छ। यसरी कुनै व्यक्ति डिप्रेसनको शिकार हुनमा मनोसामाजिक र जैविक तत्वहरुको अन्तरक्रिया हुने गर्दछ।
डिप्रेसनमा के–कस्ता लक्षण देखिन्छन्?
१. प्रायःजसो समयमा उदास, दुःखी, बोर वा दिक्दार रहनु।
२. दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु। अरुबाट एक्लिनु वा एकान्तमा रहनु।
३. केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु।
४. सोच्न र सम्झन नसक्ने हुनु।
५. आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु।
६. सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु।
७. बाँच्ने चाहना कम भई आत्महत्याका विचार आउनु।
८. कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभास हुनेजस्ता लक्षण देखिनु।
९. अस्वाभाविक रुपले सिथिल वा कमजोर अनुभव हुनु।
१०. भोक कम वा ज्यादा हुनु र त्यसैअनुसार तौलमा कमी वा बृद्धि हुनु।
११. निद्रा कम वा बढी लाग्नु र बिहान उठ्दा ताजा महसुस नहुनु। जिउ भारी र बोधो हुनु।
१२. यौन चाहना र तुष्टिमा कमी आउनु।
१३. कब्जियत हुनु र महिनावारीमा गडबडी आउनु।
१४. कतिपय बिरामीमा टाउको, जिउ वा शरीरका अरु भाग दुखिरहने तर शारीरिक परीक्षणमा चित्त बुझ्दो प्रमाण नभेटिने हुनु।
पहिला त, यो रोगलाई बुझ्नु नै ठूलो कुरा हो। परिवारमा कसैलाई डिप्रेसन छ भने ऊप्रतिको समझदारी एकदम आवश्यक हुन्छ। यसका लागि आफूले सत्यतथ्य बुझेर अरुलाई पनि यसबारे बुझाउनुपर्छ। रोगकै हिसाबले यो समस्या भएको छ भने बिना हिच्किचाहट सम्बन्धित चिकित्सक वा विज्ञसँग परामर्श लिनुपर्छ। यसको निदान बिरामीको उपचारका लागि हुनेगर्छ, अन्यथा सोच्नु हुँदैन। डिप्रेसनको निदान भएकोमा चिन्ता मानेर बस्नुभन्दा पनि उपचारको उचित उपयातिर लाग्नुपर्छ। सहयोगी साथीभाई र आफन्तको सल्लाह लिनु बिरामीले आनाकानी मान्नु हुँदैन। सकेको काम, हलुका व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नुपर्छ।
विज्ञको सल्लाहमा औषधि आवश्यक मात्रा र अवधिका लागि सेवन गर्नु लाभदायी हुन्छ। बिरामीलाई उपचारका लागि सम्बन्धित स्थानमा लान, उपचार सुरु गर्न, फलोअपमा रहन, ठिक भएपछि पनि पुनस्र्थापना गर्न र पछि दोहरिन नदिन परिवारजन र साथीभाइको ठूलो भूमिका रहनेगर्छ। परिवारका सदस्यले यस्ता बिरामीको औषधि राखिदिने र सेवनका लागि हौसला दिने गर्नुपर्छ। कतिपय बिरामीले आफैंँलाई हानी पुग्ने गतिविधि गर्ने सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउनु जरुरी छ।
डिप्रेसनले जसलाई पनि सताउन सक्छ तर खास जोखिम वा खतरा भएका व्यक्तिबारे सावधानी अपनाउनु आवश्यक छ। यसको खतरा भएका व्यक्तिले त्यसै अनुसार आफ्नो जीवनशैली, व्यवहार, आहार, विहार र विचारमा सन्तुलन राख्न सिक्नुपर्छ। स्वस्थ आहार, विहार र विचारले समग्र स्वास्थ्यका लागि लाभ गर्छ भने उदासिन मनोरोगको रोकथाममा पनि सघाउँछ।
डिप्रेसनमा जान नदिन मन र शरीरलाई स्वस्थ राख्नु जरुरी छ। तनाव बहनका सीप र क्षमता बढाउने तरिका; योग; व्यायाम; साथ, सहयोग र सुमधुर सम्बन्धको माहोल; समझदार र अनुशासित परिवार; अस्वस्थ प्रतिस्पर्धारहित समाज; संस्कृति र परम्परा अनुकूल व्यवहार आदि कुरामा ध्यान दिनुपर्दछ। रोग लागेर निको भइसकेकाहरुले पुनः नदोहरियोस् भन्नका लागि सतर्कता अपनाउनुपर्छ। जस्तैः विज्ञको सल्लाह अनुसार आवश्यक अवधि र मात्रामा औषधि लिने, धूमपान–मध्यपानबाट टाढा रहने, कुनै रोग लागेमा समयमै उपचार गराउने, निद्रा पर्याप्त पुग्नेगरी सुत्ने आदि।
आफू वा परिवारका सदस्य डिप्रेसनमा रहेको कुरा चाल पाएपछि आवश्यक उपचार थाल्न रोगका लक्षण, उपलब्ध उपचार विधि, सेवासुविधा र अन्य आवश्यक जानकारीबारे सजग रहनुपर्छ। यसले उपचारमा ढिलाइ र उपचार नपाउँदा हुन सक्ने आत्महत्या जस्ता घटना रोकथाममा सहायता पुग्छ। तसर्थ, तपाईंहामी सबैले डिप्रेसनबारे जानकारी भएको लेख पढौँ, जानकार र विज्ञहरुको राय सुनौँ, यसबारे खुलेर कुरा गरौँ र सत्यतथ्य बुझिराखौँ। अरुलाई पनि यसबारे जान्न, सुन्न, बुझ्न र कुरा गर्न प्रेरित गरौँ। डिपे्रसनको समस्यालाई लुकाउने भन्दा पनि यसबारे व्यापक मन्थन थालौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।