काठमाडौं- गत साउनदेखि नै अवकास पाइसकेको भनी न्याय परिषद्को पत्रपछि राजीनामा दिएका निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्धको अवहेलना मुद्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नै इजलाशमा पेशी तोकेका छन्।
मनोज अधिकारीले दर्ता गराएको उक्त अवहेलना निवेदन आफैंले सुनुवाई गर्न जोशीले आफ्नै इजलाश तोकेका हुन्।
यसअघि पराजुली हुदाँ उक्त निवेदन 'प्रधानन्यायाधीश विरुद्ध अवहेलना निवेदन दर्ता गर्न नमिल्ने' भन्दै दरपिठ गरिएको थियो। सर्वोच्च प्रशासनले गरेको दरपिठविरुद्ध अधिकारीले इजलाशमा निवेदन दिएका थिए। उक्त निवेदनलाई जोशीले आफ्नै इजलाशमा राखेका हुन्।
उक्त निवेदनमाथि सुनुवाई गर्दै जोशीको इजलासले पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता हुने कि नहुने निर्णय गर्नेछ।
जोशीको इजलाशले निवेदन दर्ता गर्ने आदेश दिएमा उनीमाथि सर्वोच्चबाट बाहिरिने बित्तिकै अवहेलना मुद्दा चल्नेछ र सर्वोच्च अदालतका निवर्तमान प्रधानन्यायाधीशमाथि अवहेलना मुद्दा लाग्ने पहिलो घटना हुनेछ।
डा गोविन्द केसीको मुद्दा मिलाउन उनका वकिललाई धम्की दिनेसम्म काम गरेर प्रधानन्यायाधीश पराजुलीले अदालतको अवहेलना गरेको जिकिर अधिकारीको निवेदनमा गरिएको छ।
प्रधानन्यायाधीश पराजुलीको कुन कार्य अवहेलना भयो त्यो कार्यको पुष्टि हुने आधिकारिक प्रमाण नल्याएको भन्दै सर्वोच्चका सह रजिस्टार नारायण पन्थीले उक्त निवेदन दरपीठ गरेका थिए।
पत्रिकामा समाचार आएका आधारमा अवहेलना मुद्दा नलाग्ने दरपीठमा भनिएको थियो।
पराजुली प्रधानन्यायाधीश पदमै हुदाँ डा केसीका कानुन व्यवसायी सुरेन्द्र भण्डारीलाई धम्की दिएको निवेदनमा उल्लेख थियो। त्यस्तै, किर्ते नागरिकता र फरक-फरक शैक्षिक प्रमाणपत्रका आधारमा न्यायाधीश हुँदै पराजुलीले अदालतको अवहेलना गरेको जिकिर निवेदनमा गरिएको छ।
डा केसीले प्रधानन्यायाधीशलाई भ्रष्ट र माफिया भन्दै राजीनामा मागेपछि उनीविरुद्ध सर्वोच्च अदालतले अवहेलना मुद्दा दायर गरेको थियो।
त्यही मुद्दाको सुनुवाइमा डाक्टर केसीले माफी मागेमा वा आवेशमा आएर बोलेको हुँ भनेमा मुद्दा फिर्ता गर्नेसम्मको प्रलोभन प्रधानन्यायाधीशले दिएको भन्दै केसीका मुख्य वकिल सुरेन्द्र भण्डारीले सार्वजनिक गरेका थिए। आफूले नमानेपछि प्रधानन्यायाधीशले मार्नेसम्मको धम्की दिएको भनी उनले जिल्ला प्रशासन कार्यलयमा सुरक्षा माग्दै निवेदन समेत दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।