महिलाका लागि गर्भअवस्था निकै जटिल क्षण हो। यो अवधिभर र बच्चा जन्मने समयमा गर्भवती महिलाको स्वास्थ्यमा संकट आइपर्न सक्छ। विशेष गरी २० वर्षभन्दा कम अनि ३० वर्षपछि प्रथम पटक आमा बन्ने महिलामा जोखिमको सम्भावना बढी हुन्छ। त्यसैले यो संवेदनशील समयमा गर्भवती महिलासँगै उनका परिवारका सदस्यले धेरै कुरामा ख्याल गर्नुपर्छ।
गर्भ अवस्थामा ध्यान दिनैपर्ने कुरा यस्ता छन्ः
पोषण युक्त खानपानः गर्भावस्थामा साविकभन्दा बढी पोषणको आवश्यकता हुन्छ। प्रोटिन, आइरनयुक्क्त खानेकुराहरु प्रसस्त मात्रामा खानुपर्छ। आमाबाट आइरन बच्चामा जाने भएकाले पनि आइरन चक्की सरकारका तर्फबाट निःशुल्क वितरण गरिएको छ। साथै, बच्चा जन्माउने बेलामा भएको रक्त्तस्रावको परिपूर्तिका लागि पनि आइरन चक्की र आइरनयुक्क्त खानेकुरामा विशेष ध्यान दिनुपर्छ। माछा, मासु, हरियो सागपात प्रसस्त मात्रामा खानुपर्दछ।
पोषणले बच्चाको बृद्धि विकासमा सहयोग पुग्छ। साथै, फोलिक एसिडको प्रयोग गर्भ रहनुभन्दा तीन महिना अघिबाट गर्न थालियो भने बच्चामा हुने न्युरल ट्युब डिफेक्टको समस्या न्यून हुन्छ। सन्तुलित भोजनका साथै आइरन र क्याल्सियम चक्कीको प्रयोग पनि गर्भ अवस्थाका लागि लाभदायक हुन्छ। तर, आइरन र क्याल्सियम गर्भ रहेको पहिलो तीन महिनापछि मात्र स्वास्थ्यकर्मीको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ।
आरामः गर्भवती महिलालाई सामान्य अवस्थामाभन्दा अलि बढी आरामको आवश्यकता पर्दछ। लामो समयसम्म उभिने र बस्ने गर्नु हुँदैन। दिनमा दुई घण्टा अनि राति आठ घण्टा निदाउनुपर्छ। सुत्दा सकेसम्म देब्रे कोल्टे फर्केर सुत्नु राम्रो हुन्छ। जसबाट गर्भमा रहेको बच्चाको रक्क्त सञ्चारमा असुविधा हुँदैन।
व्यायामः गर्भ अवस्थामा सामान्य प्रकारका व्यायाम गर्दा आमा र बच्चा दुवैलाई फाइदा हुन्छ। जस्तै, सामान्य घरको काम, हिडँडुल, लामो सास फेर्ने जस्ता सामान्य व्यायामहरु गर्नुपर्दछ। तर, व्यायाम गर्दा तल्लो पेट कडा भएमा, श्वासप्रश्वासमा समस्या आएमा र मुटुको चाल बढेमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
यात्राः पहिलो तीन मिहिना अनि अन्तिम तीन मिहना सम्भव भएसम्म लामो दूरी अनि अप्ठ्यारो सडकमा यात्रा नगर्दा राम्रो। लामो दूरीको यात्रामा खुट्टा सुनिने, थाक्नेजस्ता समस्या आइपर्न सक्छन्। २० हप्तापछि हवाई साधनबाट यात्रा गर्दा अक्सिजनको कमी भएर आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ।
धूमपान/मद्यपानः अध्ययनहरुले देखाए अनुसार गर्भ अवस्थामा धूमपान र मद्यपानको सेवनले बच्चाको अङ्ग विकासमा समस्या ल्याउँछ। बच्चा कम तौलको समेत हुने सम्भावना रहन्छ। यसको सेवनले रक्क्तनलीहरुलाई साँघुरो बनाएर बच्चालाई पोषण अनि अक्सिजन प्रदान गर्ने प्रक्रियमा कमी आउँछ। जसबाट बच्चाको शारीरिक एवं मानसिक विकासमा हानी पुग्छ।
अन्य औषधिः गर्भ अवस्थामा कुनै पनि किसिमका औषधिहरु सेवन गर्नु हुँदैन। गर्नै परे चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ। प्रथम ३ महिनामा बच्चाको अङ्ग विकास हुने भएकाले उक्क्त समयमा अत्यन्त सावधानी अपनाउनु पर्दछ।
सरसफाइः गर्भ अवस्थामा शरीरमा धेरै पसिना आउने भएकाले सकेसम्म हरेक दिन नुहाउने गर्नुपर्छ। धेरै कसिलो लुगा लगाउनु हुँदैन। धेरै परिश्रम पर्ने कामहरु गर्नु हुँदैन।
नियमित जाँचः
गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराउनु पर्दछ। आमाको स्वास्थ्य अवस्था र बच्चाको स्वास्थ्य र विकास थाहा पाउन तोकिएको समयमा जाँच गराउनुपर्छ। विश्व स्वास्थ्य संगठनले निम्न समयमा जाँच गराउन उपयुक्त भनेको छः
पहिलो– १६ हप्ता पहिले
दास्रो– २४ देखि २८ हप्ताभित्र
तेस्रो– ३० देखि ३२ हप्ताभित्र
चौथो– ३६ देखि ३८ हप्ताभित्र
नेपालमा भने निम्न समयमा जाँच गराउन उपयुक्त मानिँदै आएको छ।
पहिलो– गर्भ रहेको थाहा पाउने बित्तिकै
दोस्रो– २८ देखि ३२ हप्ताभित्र
तेस्रो– ३६ देखि ३८ हप्ताभित्र
चौथो– बच्चा जन्मिने मितिभन्दा एक हप्ताअघि।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।